आइतबार, जेठ ६, २०८१
22:33 | ०३:१८

राष्ट्रपति पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण

रासस/एएफपी मे ३, २०२३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । तस्बिर- एपी

मस्को, २० वैशाख–रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा युक्रेनले रातभर गरेको ‘ड्रोन आक्रमण’ लाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै रूसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ ।

रूसले युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउँदै यो ‘आतङ्कवादी हमला’ भएको दाबी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मङ्गलबार राति युक्रेनी मानवरहित ‘वायु यान’ आक्रमणको समयमा राष्ट्रप्रमुख क्रेमलिनमा थिएनन् र उनी अहिले मस्को नजिकैको आफ्नो निवासमा काम गरिरहेको र आफ्नो कार्यतालिकामा कुनै परिवर्तन नभएको पनि जानकारी गराइन्छ ।”

पुटिनका कर्मचारीका अनुसार युक्रेनले क्रेमलिनस्थित उनको अपार्टमेन्टमा आक्रमण गर्ने उद्देश्यले रातारात दुईवटा ड्रोन आक्रमण गरेको थियो ।

ड्रोनहरू विद्युतीय युद्धका उपायहरू प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहत वा क्षति नभएको उनले बताए ।

रसिया टुडेको एक रिपोर्टका अनुसार सन्देशमा भनिएको छ, “यस आतङ्कवादी कार्यको परिणामस्वरुप रूसी महासङ्घका राष्ट्रपतिलाई कुनै चोट पटक लागेको छैन । उहाँको कार्यतालिका परिवर्तन भएको छैन, यो सधैंजस्तै जारी छ ।”

रसिया टुडेका अनुसार क्रेमलिनले रूसी पक्षलाई आफूले उपयुक्त ठानेको प्रतिशोधात्मक कदम चाल्ने अधिकार सुरक्षित रहेको पनि उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी यसलाई पूर्वनियोजित आतङ्कवादी गतिविधि र रूसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौं, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।”

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आएका छन् । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उनी फिनल्याण्ड भ्रमणमा आएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताए ।

युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को कान्छो सदस्य फिनल्याण्डका राष्ट्रपतिसँग उनले जारी युद्ध र प्रतिरक्षा सहयोगबारे छलफल गर्ने अधिकारीहरूले बताएका छन् ।

युक्रेनी नेताले स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन, नर्वेका जोनास गाहर स्टोर, डेनमार्कका मेटे फ्रेडरिक्सन र आइसल्याण्डका क्याट्रिन जाकोब्सडोटिरसँग पनि द्विपक्षीय वार्ता गर्नेछन् ।

नेटोको सदस्यता प्राप्तिमा नर्डिक मुलुकको सहयोग प्राप्तिलाई पनि युक्रेनी राष्ट्रपतिले आफ्नो भ्रमणको कार्यसूचीमा समावेश गरेको उनका सञ्चार सल्लाहकार डारिया जरिभनाले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू