आइतबार, जेठ ६, २०८१
22:01 | ०२:४६

८० वर्षको उमेरमा पुनः चुनाव लड्ने बाइडेनको घोषणा

रासस/एपी अप्रिल २५, २०२३

अमेरिकी राष्ट्रपति जो बाइडेन । तस्बिर एएफपी

वासिङ्टन, १२ वैशाख–अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीय निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । ८० वर्षको उमेरमा पनि उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रने नेता हुनहुनेछ ।
राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिएर सुरु गरेका सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन राष्ट्रपति बाइडेनले मतदातासमक्ष पुनः अनुरोध गर्नुभएको छ । ह्वाइट हाउसमा पुनः उहाँ पुगेमा कार्यकालको अन्त्यतिर उहाँको उमेर ८६ वर्ष हुनेछ ।
आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लाग्नुभएका उहाँको वासिङ्टन अनुभव उमेरभन्दा महत्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन् । उहाँ जत्तिकै अनुभवी प्रतिस्पर्धी नभएकाले उहाँको दलले पनि उहाँको उम्मेदवारीलाई अनुमोदन गर्नेछ ।
बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उहाँले कठोर सङ्घर्ष गर्नुपर्नेछ ।
ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो सन्देशमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । अधिकभन्दा अधिक अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको उहाँले बताउनुभएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू