शुक्रबार, वैशाख ७, २०८१
15:52 | २०:३७

जापानी प्रधानमन्त्री दुई दिने भारत भ्रमणमा

रासस/एएनआई मार्च २०, २०२३

तस्विर एएफपी

नयाँ दिल्ली ६ चैत–जापानका प्रधानमन्त्री फुमियो किशिदा दुई दिने भारत भ्रमणका लागि सोमबार भारत आइपुग्नुभएको छ ।

किशिदालाई केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले दिल्लीको विमानस्थलमा स्वागत गर्नुभएको छ । भ्रमणका क्रममा किशिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुका साथै जापानको इन्डो–प्यासिफिक रणनीति र उसको नयाँ प्रतिरक्षा प्रणालीका बारेमा पनि सम्बोधन गर्नुहुनेछ ।

पन्ध्र वर्षअघि प्रधानमन्त्री शिन्जो आबेले आफ्नो दिल्ली भ्रमणका क्रममा इन्डो–प्यासिफिक सहकार्यका बारेमा पहिलो पटक बोल्नुभएको थियो ।

दुवै प्रधानमन्त्रीले दिल्लीस्थित बुद्ध जयन्ती पार्कमा सँगै पदयात्रा गरी गौतम बुद्धको पालाको गहिरो जरा भएको पूज्य वृक्ष बालबोधीको अवलोकन गर्नुहुने बताइएको छ ।

भारत र जापानबीचको सम्बन्ध सन् २००० मा ‘विश्व साझेदारी’, सन् २००६ मा ‘रणनीतिक तथा विश्व साझेदारी’ र सन् २०१४ मा ‘विशेष रणनीतिक तथा विश्व साझेदारी’ मा परिणत भएको थियो ।

दुवै देशले सन् २००६ देखि नियमित रूपमा वार्षिक शिखर सम्मेलन गर्दै आएका छन् । पछिल्लो वार्षिक शिखर सम्मेलन मार्च २०२२ मा नयाँ दिल्लीमा भएको थियो ।

किशिदाले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने जानकारी दिनुभएको छ । भारतीय विदेश मन्त्रालयले मार्च १० मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुई नेताबीच पारस्परिक हितका द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल हुनेछ ।”

किशिदाले आफ्नो भारत बसाइका क्रममा स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि नयाँ योजनाको घोषणा गर्ने बताउनुभयो । उहाँले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको भविष्यका बारेमा विचार प्रस्तुत गर्ने बताउनुभयो ।

“यसका साथै, भारतमा रहँदा म स्वतन्त्र र खुला इन्डो–प्यासिफिकसम्बन्धी नयाँ योजनाको घोषणा गर्नेछु । हामी यस ऐतिहासिक मोडमा एफओआईपीको भविष्यको बारेमा ठोस विचारहरू प्रस्तुत गर्नेछौं,” किशिदाले सम्प्रेषण गरेको ट्वीटमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापान ‘अत्यन्त महत्वपूर्ण साझेदार’ भएको र भारत विचार आदानप्रदानका लागि तत्पर रहेको बताउनुभयो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षीबीच हुने छलफलका बुँदाबारे विस्तृत जानकारी नगराई जापान भारतको धेरै महत्वपूर्ण साझेदार भएको बताउनुभयो ।

भारत र जापानबीच सन् २०२२ को मार्चमा भएको पछिल्लो बैठकपछि नयाँ दिल्ली र टोकियोले क्रमशः जी–२० र जी–७ को अध्यक्षता सम्हालिरहेकाले द्विपक्षीय स्तरमा संलग्न हुनका लागि यो महत्वपूर्ण समय हो । दुवै देशबीच रक्षा तथा सुरक्षा, व्यापार तथा लगानी, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य सेवा र महत्वपूर्ण उदीयमान प्रविधिलगायत विभिन्न क्षेत्रमा साझेदारी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू