शनिबार, जेठ ५, २०८१
09:41 | १४:२६

युक्रेन युद्धको एक बर्ष, बेलायतका राजाले गरे रुसको निन्दा

रासस/एएफपी फ्रेब्रवरी २४, २०२३

युद्ध मैदानमा युक्रेनी सैनिक । तस्बिर एएफपी

पेरिस, १२ फागुन–रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा भएको दिन विश्व नेताहरूले शुक्रबार युद्धबारे आ–आफ्ना विचार सार्वजनिक गरेका छन् ।

चीनले युद्ध अन्त्यका लागि तत्काल शान्ति वार्ताको आह्वान गरेको छ । चीनले रूसलाई हतियार उपलब्ध गराउनेबारे सोचिरहेको पश्चिमा मुलुकहरूको आरोपपछि चीनले सङ्कटको ‘राजनीतिक समाधान’ का लागि आह्वान गर्दै १२ बुँदे कार्यपत्र जारी गरेको हो ।

अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि वार्ताको प्रयास अविलम्ब थाल्नुपर्ने बताउँदै द्वन्द्वरत पक्षलाई जतिसक्दो चाँडो राजनीतिक समाधानको ढोका खोल्न आह्वान गरेको छ । शान्ति वार्ताको पुनः थालनीका लागि चीनले रचनात्मक भूमिका निर्वाह गरिरहने जनाएको छ ।

सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गर्दै बेइजिङले सबै पक्षलाई तनाव घटाउनेतर्फ लाग्न सुझाएको छ । सबै पक्षले रुस र युक्रेनलाई एउटै दिशामा काम गर्न र यथाशक्य चाँडो वार्ता पुनः सुरु गर्न सघाउनुपर्ने बताएको छ । युद्धविराममा पुग्न त्यो सहयोगी हुने विश्वास बेइजिङले व्यक्त गरेको छ ।

नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले सन् २०२२ को फेब्रुअरी २४ मा सुरू भएको आक्रमणको एक वर्षपछि युक्रेनीहरूले रुसविरुद्धको लडाइँमा ‘पक्कै पनि विजय हासिल गर्ने’ बताएका छन् ।

“स्वतन्त्रता सित्तैंमा हुँदैन । यसका लागि हामीले हरेक दिन लड्नुपर्छ,” उनले भने, “आज युक्रेनी जनता आफ्नो स्वतन्त्रताका लागि बहादुरीका साथ लडिरहेका छन् । अनि निराशा र विनाशको अँध्यारो वर्षको बावजुद तिनीहरूको दृढ संकल्प र साहस पक्कै पनि प्रबल हुनेछ ।”

यस सन्दर्भमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेयर लेयेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एउटा पनि लक्ष्य हासिल गर्न असफल भएको दावी गरेकी छन् ।

‘युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि पुटिनले आफ्नो एउटा पनि रणनीतिक लक्ष्य हासिल गर्न असफल भएका छन् । युक्रेनलाई नक्साबाट मेटाउनुको साटो युक्रेन र सहयोगी राष्ट्रबाट रूसी सेना र राष्ट्रपति पुटिनले कडा प्रतिक्रियाको सामना गरिरहेका छन्’, उनले भनिन् ।

त्यसैगरी जापानका प्रधानमन्त्री फुमियो किशिदाले जी सेभेनको भर्चुअल बैठकमा रूसलाई सैन्य सहायता नपठाउन आग्रह गर्ने बताएका छन् । उनले भने, “जी–७ ले यस्तो सहयोग बन्द गर्न आह्वान गर्न चाहेको छ ।” वार्तामा समूहले मस्कोमाथि लगाइएको नयाँ प्रतिबन्धबारे छलफल गर्ने उनले बताए ।

संयुक्त राज्य अमेरिकाले रूसका लागि आर्थिक पीडा बढाउने उद्देश्यले व्यापक प्रतिबन्धहरूको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भनेको छ, “बैंक, खानी र रक्षा उद्योगलगायत क्षेत्रलाई लक्षित गरी लगाइएको नयाँ प्रतिबन्धले युरोप, एसिया र मध्यपूर्वका रुसी र तेस्रो मुलुकका २०० भन्दा बढी व्यक्ति र संस्थालाई प्रभावित पार्नेछ ।”

बेलायतका राजा चार्ल्स तृतीयले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भने, “युक्रेनका जनताले आफ्नो राष्ट्रमाथि बिना उक्साहटपूर्ण आक्रमणबाट अकल्पनीय क्षति व्यहोर्नुपरेको एक वर्ष भइसकेको छ । संसार सबै अनावश्यक कष्टहरू देखेर भयभित बनेको छ ।”

“रूसी हस्तक्षेपविरूद्ध हामी एक ढिक्का भएर उभिएका छौं,” उनले थपे ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले युक्रेनलाई फ्रान्सको समर्थन रहेको बताएका छन् । ‘फ्रान्सका जनता शान्तिको ऐक्यबद्धताका लागि युक्रेनको पक्षमा उभिएका छन्’, उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू