बिहीबार, कार्तिक ८, २०८१
17:55 | २२:४०

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र पाकिस्तान भिड्ने

रासस नोभेम्बर १५, २०२२

नेपाल र पाकिस्तानबीच बुधबार हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताबारे मङगलबार आयोजित पत्रकार सम्मेलनमा आफनो टिमबारे जानकारी दिँदै नेपाली टोलीका क्याप्टेन रोहित चन्द । तस्बिर-रासस

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा भोलि बुधबार नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रंगशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।
पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए ।
मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए ।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे ।
पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू