‘माया टी–१०’ क्रिकेटको उपाधि एभरेस्ट राइनोजलाई, विनोद भण्डारीको उत्कृष्ट प्रदर्शन


लन्डन । बेलायतमा आयोजित दोस्रो संस्करणको माया टी–१० क्रिकेट प्रतियोगिताको उपाधि एभरेस्ट राइनोज यूकेले जितेको छ।
फाइनलमा माया क्रिकेट क्लबलाई पराजित गर्दै एभरेस्ट राइनोज च्याम्पियन बनेको हो।
फाइनलमा पहिले ब्याटिङ गरेको एभरेस्ट राइनोजले ८८ रन बनाएको थियो। जवाफमा माया क्रिकेट क्लबले खेल रोकिनुअघि ५ विकेटको क्षतिमा ४४ रन बनाएको थियो।
पर्याप्त प्रकाश नभएका कारण खेल प्रभावित भएपछि डीएलएस पद्धतिका आधारमा एभरेस्ट राइनोजलाई विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ।
प्रतियोगितामा गौतमबुद्ध क्रिकेट क्लब, एभरेस्ट राइनोज, माया क्रिकेट क्लब, साथी क्रिकेट क्लब, गोर्खा केन्ट क्रिकेट क्लब र मिडल्यान्ड्स वारियर्स क्लब गरी बेलायतभरका छ टोलीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे। उनले प्रतियोगिताभर चार खेलमा चार अर्धशतक प्रहार गर्दै एभरेस्ट राइनोजको उपाधि यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरे।
भण्डारी ‘म्यान अफ द टुर्नामेन्ट’, फाइनलको ‘म्यान अफ द म्याच’ तथा ‘बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट’ गरी तीन व्यक्तिगत विधामा सम्मानित भए।
नेपालका लागि एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका भण्डारी विकेटकिपर–ब्याट्सम्यानका रूपमा परिचित छन्।
एभरेस्ट राइनोजबाट भण्डारीसँगै इशान पाण्डे, वंश क्षेत्री र शोएल कुँवर लगायत खेलाडी सहभागी थिए। पोर्चुगलका राष्ट्रिय खेलाडी मधुकर थापाको समेत टोलीमा सहभागिता थियो।
त्यस्तै, माया क्रिकेट क्लबबाट नेपाली क्रिकेटसँग जोडिएका अर्जुन साउद, रिजन ढकाल, प्रकाश बिष्ट, भीम सार्की र गुलशन झा लगायतका खेलाडी प्रतियोगितामा सहभागी थिए।
प्रतियोगिता बेलायतको वेकम्ब हाउस क्रिकेट क्लबमा आयोजना गरिएको थियो।
आयोजक माया क्रिकेट क्लबले पनि एभरेस्ट राइनोजलाई दोस्रो संस्करणको विजेता बनेकोमा बधाई दिएको छ।
आयोजकका माया इभेन्टस एवम् माया क्रिकेट क्लबका संस्थापक राज पाण्डेले प्रतियोगिताले बेलायतमा रहेका नेपालीमूलका युवा खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्ने, सिक्ने र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको जनाए ।
बेलायतमा रहेका नेपाली तथा विभिन्न देशका खेलाडीको सहभागिताले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनुका साथै नेपाली समुदायमा क्रिकेटको प्रवर्द्धन र खेलाडीबीचको सम्बन्ध विस्तारमा समेत योगदान पुगेको आयोजकको विश्वास छ।
माया क्रिकेट टिमकी डा रक्षा थापाले उक्त खेलमा सहभागी तथा सम्पूर्ण सहयोगीलाई धन्यबाद दिएकी छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


