नेपालका बाढीपीडितका लागि बेलायती प्रधानमन्त्रीलाई काउन्सिलर लक्ष्य गुरुङको खुला पत्र

लन्डन । बेलायतस्थित नेपाली मूलका काउन्सिलर तथा पूर्व गोर्खा सैनिक लक्ष्य गुरुङले नेपालमा गत २६ अगष्टमा आएको विनाशकारी आकस्मिक बाढीपछि तत्काल र प्रभावकारी सहयोग प्रदान गर्न बेलायती सरकारलाई आग्रह गर्दै प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन्।
लन्डन बरो अफ बार्नेटका पूर्व उपमेयरसमेत रहेका गुरुङले १ सेप्टेम्बर २०२६ मा प्रेषित उक्त पत्रमा बाढीका कारण रसुवालगायत नेपालका उत्तरी जिल्लाहरूमा ठूलो जनधनको क्षति, घर तथा पूर्वाधारको विनाश र स्थानीय जनजीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन्।
उनले पछिल्लो विवरणअनुसार बाढीमा ९ सयभन्दा बढीको मृत्यु भएको र बेलायती नागरिकसहित ४ हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको उल्लेख गर्दै नेपालप्रति थप सहयोग अपरिहार्य रहेको बताएका छन्। विपद्को यस कठिन घडीमा नेपाल सरकारलाई तत्काल ५० लाख पाउन्ड सहयोग घोषणा गरेकोमा बेलायत सरकारप्रति बेलायतस्थित नेपाली समुदायको तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।
गुरुङले बेलायत सरकारसमक्ष मुख्यतः तीनवटा विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।
पहिलो, नेपालका बाढी प्रभावित क्षेत्रका लागि बेलायतले मानवीय तथा विकास सहायता थप वृद्धि गर्नुपर्ने उनको माग छ। प्रभावित समुदायका लागि आपत्कालीन आवास, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक राहत तत्काल उपलब्ध गराउनुपर्ने उनले बताएका छन्।
त्यसैगरी बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य महत्वपूर्ण पूर्वाधार पुनर्निर्माणका लागि दीर्घकालीन विकास सहायता पनि उपलब्ध गराउन उनले आग्रह गरेका छन्। दोस्रो, उद्धार, मानवीय सहायता र पुनर्निर्माणमा सहयोग पुर्याउन ब्रिटिस आर्मीका गोर्खा सैनिकको उपयुक्त टोली नेपाल पठाउन उनले प्रस्ताव गरेका छन्।
सन् २०१५ मा नेपालमा गएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पपछि पनि बेलायतले गोर्खा सैनिकमार्फत उद्धार तथा पुनर्निर्माणमा सहयोग गरेको स्मरण गराउँदै गुरुङले वर्तमान संकटमा पनि गोर्खा सैनिकको विशेषज्ञता र अनुभव उपयोगी हुन सक्ने बताएका छन्।
बेलायत र नेपालको दुई शताब्दीभन्दा लामो सम्बन्ध गोर्खा सैनिकहरूको सेवा, साहस र बलिदानबाट थप सुदृढ बनेको उल्लेख गर्दै उनले यस्तो टोलीको परिचालनले प्रभावित क्षेत्रमा व्यावहारिक सहयोगसँगै बेलायतको ऐक्यबद्धताको सशक्त सन्देश पनि प्रवाह गर्ने बताएका छन्।
तेस्रो, जलवायु परिवर्तन र जलवायु सहनशील विकासका लागि बेलायतले विश्वव्यापी गठबन्धनको नेतृत्व गर्नुपर्ने उनले आग्रह गरेका छन्। नेपालजस्ता न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकहरू नै जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर भोग्न बाध्य भइरहेको भन्दै गुरुङले नेपालको विश्वव्यापी कार्बन उत्सर्जनमा योगदान करिब ०.१२ प्रतिशत मात्रै रहेको उल्लेख गरेका छन्।
हिमालय नेपालका लागि मात्र नभई विश्वकै महत्वपूर्ण प्राकृतिक सम्पदा भएको बताउँदै उनले जलवायु सहनशील पूर्वाधार, पूर्वसूचना प्रणाली, विपद् पूर्वतयारी, जलवायु वित्त तथा अन्तर्राष्ट्रिय सहकार्यमा बेलायतले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्।
पत्रमा गुरुङले हालको विपद् केवल मानवीय संकट मात्र नभई नेपाल र बेलायतबीचको ऐतिहासिक तथा आत्मीय सम्बन्ध पुनः स्मरण गराउने क्षणसमेत भएको बताएका छन्।
नेपाल र बेलायतबीच २११ वर्षभन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै उनले हजारौँ नेपालीले बेलायतलाई आफ्नो घर बनाउँदै ब्रिटिस समाजमा महत्वपूर्ण योगदान पुर्याएको तथा पुस्तौँदेखि गोर्खा सैनिकहरूले बेलायती क्राउन र मुलुकका लागि विशिष्ट सेवा र बलिदान दिएको स्मरण गराएका छन्।
पूर्व गोर्खा सैनिक तथा नेपाली मूलको काउन्सिलरका रूपमा म बेलायतलाई फेरि एकपटक नेपालको पक्षमा उभिन आग्रह गर्दछु भन्ने भाव व्यक्त गर्दै गुरुङले तत्काल मानवीय सहायता, उद्धारमा व्यावहारिक सहयोग र दीर्घकालीन जलवायु सहनशील पुनर्निर्माणमार्फत बेलायतले नेपालप्रतिको मित्रता प्रदर्शन गर्नुपर्ने बताएका छन्। उनले बेलायतको अन्तर्राष्ट्रिय प्रभाव प्रयोग गरी नेपालका लागि व्यापक अन्तर्राष्ट्रिय सहयोग जुटाउनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन्।
गुरुङले उक्त पत्रको प्रतिलिपि विपक्षी दलकी नेता केमी बाडेनक र विदेशमन्त्री एड मिलिब्यान्डलाई समेत पठाएको उल्लेख गरेका छन्।
स्रोत: काउन्सिलर गुरुङको फेसबुक
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


