यूके आदिवासी मेला आज, २५ टिम भलिबलमा, दर्जन बढी सांस्कृतिक झाँकी

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेद्वारा आज ८ अगष्टमा हुन लागेको आदिवासी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना कार्यक्रम ग्याम्बरल्यान्डमा हुनेछ।
कार्यक्रममा विभिन्न जातजातिका एक दर्जनबढी आकर्षक सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन्। थारु, मगर, गुरुङ, लिम्बु, याक्खा, राई, तामाङ, दुरा, छन्त्याल, शेर्पालगायत समुदायले आफ्नो मौलिक संस्कृति प्रदर्शन गर्नेछन्।
नेपालबाट आमन्त्रित कलाकार दिपा सुहाङ, राजेन्द्र केरुङ, अस्मिता राना, लक्ष्मण लिम्बुलगायतले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिने नेफिन यूकेका अध्यक्ष योगेश कोयूले जानकारी दिए।
मेलाको अर्को आकर्षण भलिबल प्रतियोगितामा यस वर्ष २५ टिम सहभागी हुँदैछन्। सहज सञ्चालनका लागि ६ वटा खेलमैदान तयार पारिएको छ।
यससँगै धनुषकाँड (आर्चरी) प्रतियोगिता र विविध खाद्य तथा हस्तकला स्टलहरू पनि रहनेछन्। गत वर्ष भलिबल प्रतियोगितामा ग्रिनवीच भलिबल क्लब विजयी बनेको थियो।
विश्वभर अगष्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरिन्छ। यूकेमा गत वर्षदेखि सुरु भएको आदिवासी मेला यो वर्ष दोस्रो पटक आयोजना भइरहेको हो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



