तेस्रो एनआरएनए कप सेप्टेम्बर १९ मा, विजेतालाई २ हजार ५ सय पाउन्ड

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके युवा विभागको आयोजनामा तेस्रो ‘एनआरएनए कप फुटबल प्रतियोगिता–२०२६’ आगामी सेप्टेम्बर १९ तारिख शनिबार आयोजना हुने भएको छ।
प्रतियोगिता लन्डनको फेल्थामस्थित स्प्रिङवेस्ट एकेडेमीमा बिहान ८ बजेदेखि शुरु हुनेछ। खेलकुदमार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सद्भाव, एकता, मित्रता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
‘वान टीम, वान गोल, वान कम्युनिटी’ भन्ने नारासहित आयोजना हुने प्रतियोगिता ९–ए–साइड ढाँचामा सञ्चालन हुनेछ। मुख्य, भेट्रान र महिला गरी तीन विधामा प्रतिस्पर्धा गराइनेछ।
मुख्य टोलीतर्फ १८ वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुन सक्नेछन् भने भेट्रानतर्फ ३६ वर्ष वा सोभन्दा माथिका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन्। महिला विधामा पनि १८ वर्ष वा सोभन्दा माथिका खेलाडी सहभागी हुन सक्नेछन्। १८ वर्षमुनिका खेलाडीको हकमा अभिभावकको सहमति आवश्यक पर्ने आयोजकले जनाएको छ।
प्रतियोगिताको मुख्य टोलीतर्फ विजेताले २ हजार ५ सय पाउन्ड तथा उपविजेताले १ हजार २ सय पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछन्। भेट्रानतर्फ विजेतालाई १ हजार ५ सय पाउन्ड र उपविजेतालाई ७ सय पाउन्ड प्रदान गरिनेछ।
महिला टोलीतर्फ विजेताले २ सय ५० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई ट्रफी तथा मेडल प्रदान गरिनेछ। महिला टोलीका लागि दर्ता निःशुल्क गरिएको छ।
मुख्य टोलीको दर्ता शुल्क २ सय ७५ पाउन्ड र भेट्रान टोलीको २ सय ५० पाउन्ड तोकिएको छ। टोली दर्ताको अन्तिम मिति ३१ अगस्ट २०२६ छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। सर्वाधिक गोलकर्ता, म्यान अफ द टुर्नामेन्ट र उत्कृष्ट गोलरक्षक लाई ट्रफी प्रदान गरिनेछ। विजेता टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी तथा मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी टोलीहरूले निर्धारित समयभित्र दर्ता गरिसक्नुपर्नेछ। खेलका क्रममा आयोजक तथा रेफ्रीको निर्णय अन्तिम हुने र अनुशासनहीन गतिविधिमा संलग्न खेलाडी वा टोलीलाई अयोग्य घोषित गर्न सकिनेछ। प्रत्येक टोलीलाई आफ्नो खेल सुरु हुनुभन्दा कम्तीमा ३० मिनेटअघि मैदानमा उपस्थित हुन भनिएको छ।
प्रतियोगिताको तयारी तथा समन्वयमा एनआरएनए यूकेका युथ भाइस कोअर्डिनेटर निशान लिम्बू, युथ कोअर्डिनेटर विशाल राई तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायत सक्रिय रहेका छन्।
आयोजक एनआरएनए यूके युवा विभागले बेलायतभर रहेका नेपाली फुटबल क्लब, खेलाडी, खेलप्रेमी तथा नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



