शुक्रबार, वैशाख ७, २०८१
08:52 | १३:३७

बेलायतमा धर्ना, जुलुस रोक्ने विधेयकविरुद्ध गोर्खाहरुको पनि ऐक्यवद्धता

नेपाली लिङ्क जनवरी १७, २०२२

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई

लन्डन । बेलायतमा धर्ना, जुलुस नियन्त्रण 
गर्ने एउटा सरकारी विधेयकविरुद्ध जारी प्रदर्शनमा भूतपूर्व गोर्खाहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

संसदमा अन्तिम चरणमा पुगेको ‘पुलिस एण्ड क्राइम बील’ ले मानवअधिकार हनन गर्ने भन्दै बेलायतमा मानवअधिकारवादीहरुको प्रदर्शन भइरहंदा भूतपूर्व गोर्खाहरुले पनि साथ दिएका हुन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, सत्याग्रहका यूके संयोजक टक गुरुङ, गोर्खाहरु सुरेश राई र नथुसिंह थापाले संस्थागत प्रतिनिधित्व गर्दै सोमबार लन्डनमा ऐक्यवद्धता जनाए । उनीहरुले सरकारी विधेयक विरुद्ध शुरु गरिएको पिटिसनमा हस्ताक्षर समेत गरेका छन् ।

बेलायतको गृहमन्त्रालय अगाडि सोमबार आयोजित ‘किल द बील’ अभियानमा सहभागी भएर फर्किएपछि ज्ञानराज राईले भने, ‘प्रत्येक संस्थाबाट ४ जना आमन्त्रण गरिएकाले हामीले पनि ऐक्यवद्धता जनायौं । शान्तिपूर्ण जुलुसमा अंकुश लगाउन खोज्ने सरकारको यो कदम निन्दनीय छ ।’

विगतमा भूतपूर्व गोर्खाहरुको विशाल प्रदर्शनकै जगमा धेरै माग पुरा गरिएको स्मरण गर्दै अभियन्ता राईले सभामा आयो गोर्खाली पुस्तक सहित गोर्खा समस्या र माग समावेश गरिएको लिफलेट वितरण गरिएको जनाए ।

सरकारी कदम विरुद्ध लिबर्टी, ब्ल्याक लाइभ्स म्याटर जस्ता कयौं संस्थाले प्रदर्शन गरिरहेका छन् ।

सो सरकारी विधेयकविरुद्ध गत शनिबार लन्डन, ब्रिस्टोल, कार्डिफ, कोभेन्ट्री, न्यूक्यासल, लिभरपुल, म्यानचेस्टर, सेफिल्ड, प्लेमथ लगायत शहरमा किल द बील अंकित प्लेकार्ड बोकेका हजारौंले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले सरकारको उक्त विधेयक भेला हुन पाउने अधिकार, वाक स्वतन्त्रता र नागरिक स्वतन्त्रतामाथि निर्दयी अंकुश भएको बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू