बिहीबार, चैत १५, २०८०
10:12 | १५:५७

अमेरिका, युरोपदेखि खाडी मुलुकसम्म फैलियो ओमिक्रोन

नेपाली लिङ्क डिसेम्बर २, २०२१

म्याड्रिड । कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो संक्रमण स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत ओमिक्रोन सार्स कोभ २ स्ट्रेनको संक्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए ।

तीनवटै संक्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो ।

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको विभिन्न विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सिटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

साउदी अरेबिया र युएईमा ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको छ । उत्तर अफ्रिकी देशबाट आएका एक नागरिकमा उक्त भेरियन्ट फेला परेको हो’- साउदी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले राज्यद्धारा सञ्चालित समाचार समिति एसपीएलाई जानकारी दिएका छन् ।

संक्रमित ती व्यक्तिलाई छुट्टै राखिएको र आवश्यक स्वास्थ्य उपायहरू दिइएको पनि बताइएको छ ।

छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्सले पनि आफ्नो देशमा पहिलो ओमिक्रोन केस पत्ता लागेको जनाएको छ । एउटी अफ्रिकी महिला अफ्रिकी देशबाट अरब देश हुँदै आएकोमा उक्त भेरियन्ट पत्ता लागेको स्वास्थ्य मन्त्रालयले ट्विटरमार्फत जानकारी दिएको छ । यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकाले घोषणा गरेको थियो तर पछि युरोपमा पहिले नै रहेको पत्ता लागेको छ ।

यस नयाँ भेरियन्टले पुनः विश्वभरका यात्रा प्रतिबन्धहरू लागू गर्न प्रेरित गरेको छ । साउदी अरेबियाले गत हप्ता सात दक्षिणी अफ्रिकी देशहरूबाट उडानहरू रोकेको थियो । अन्य कैयौ देशले पनि दक्षिणी अफ्रिकी देशहरुबाट उडानहरू रोकेका थिए ।

साउदी अरेबियामा महामारीको सुरुमा लगाइएको केही बाँकी प्रतिबन्धहरू हटाइरहेको थियो । मुस्लिम पवित्र स्थानहरूमा पूजा गर्नेहरूलाई अक्टोबरदेखि काँधमा काँध मिलाएर प्रार्थना गर्न पुनः सुरु गर्न अनुमति दिइएको थियो ।

करिब ३ करोड ५० लाख जनसंख्या भएको यस देशमा कोभिडको ४ करोड ७० लाखभन्दा बढी डोज खोप दिइएको छ । महामारी सुरु भएदेखि साउदी अरेबियामा कोविड-१९ को पाँच लाख ४९ भन्दा बढी संक्रमति भएका छन् । जसमध्ये ८ हजार ८०० भन्दा बढीको मृत्यु भएको छ ।

युएईमा करिब ७ लाख ४२ हजार २०० संक्रमित भएका छन् भने यसको संक्रमणबाट २ हजार १०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू