बिहीबार, चैत १५, २०८०
16:16 | २२:०१

नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा कोपिलाको उम्मेदवारी

नेपाली लिङ्क नोभेम्बर २२, २०२१

लन्डन । बेलायतस्थित एकजना प्रभावशाली महिला नेतृ कोपिला सुब्बाले नेपाली कांग्रेसको प्रवास संगठन ‘नेपाली जनसम्पर्क समिति बेलायत’ (एनपीसीसी यूके) को नयां नेतृत्वका लागि सभापतिमा उम्मेदवारी दिने भएकी छन् ।

हाल उपसभापति रहेकी सुब्बाले माउ पार्टीको विधि, विधान र पद्धति अनुशरण गर्दै संगठनभित्र आमुल परिवर्तन एवं पारदर्शीताका लागि उम्मेदवारी दिने घोषणा गरेको जनाएकी छन् ।

‘अहिले ओरालो लागेको नेपाली जनसम्पर्क समिति बेलायतलाई बौद्धिक, अनुभवी व्यक्तित्वहरुको खोजी गरी सहभागितामूलक जनसम्पर्क बनाइ दिगो, व्यवस्थित, भरपर्दो एवं विश्वासिलो संगठन बनाउन लागिपर्नेछु’, उनले भनेकी छन्, ‘म निर्वाचित भएमा नेपाली कांग्रेस पार्टीले लिएको तमाम लक्ष्यहरु लाई विदेशबाट पूर्ण गराउन महत्वपूर्ण भूमिका खेल्नेछु ।’

महिला सहभागितामा समावेशी नेतृत्वको आवाज चारैतिर उठिरहेको अवस्थामा आफू एक नैतिकवान, क्रियाशिल एवं इमान्दार महिला भएको जनाउंदै उनले सभापति पदमा मत दिई विजयी गराइदिन सबैमा अनुरोध गरेकी छन् ।

समितिमा ९ वर्ष सहमहामन्त्री र साढे ५ वर्ष उपसभापति भइसकेकी कोपिला सशक्त उम्मेदवारका रुपमा प्रस्तुत भएकी छन् । उनले चाकडी, चाप्लुसी गरेर संस्थालाई पकेटभित्र राख्न उद्यत केही झुण्डलाई चुनौति दिने ठानिएको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतको पाचौं अधिवेशन आगामी साता २७ नोभेम्बर शनिबार हुने तय भएको छ ।

२१ नोभेम्बरमा गर्ने तय भएको समितिको अधिवेशन विविधकारण एक साता पछि सरेर हुन लागेको हो । लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा हुन लागेको अधिवेशन बिहान १० देखि सांझ ५ बजेसम्म चल्नेछ ।

समितिको पाचौं अधिवेशनबाट नयां कार्यसमिति र नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जाने प्रतिनिधिहरूको पनि चयन हुने बताइएको छ । निर्वाचन सम्पन्न गराउन प्रमुख आयुक्त डा. सम्पूर्णानन्द ढुंगानाको नेतृत्वमा निर्वाचन समितिले तयारी गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू