सोमबार, जेठ ७, २०८१
23:56 | ०४:४१

७५ प्रतिशत छात्रा विद्यालय फर्केको अफगान विदेश मन्त्रीको दाबी

रासस/एएनआई नोभेम्बर १४, २०२१

फाइल तस्बिर एएफपी

इस्लामावाद २७ कात्तिक– अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकाहरुलाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ ।

अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका हुन् ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारेका जनाइएको छ ।

तत्कालिन तालिबान विद्रोही समूहले गत अगस्टमा सत्ता कब्जा गरेपछि केही समय बालिकाहरुलाई विद्यालय जान नदिएको कुरा तालिबान नेताहरुले पनि स्वीकार गरेका थिए ।

तालिवानले महिलाहरुले रोजगारी गर्न नहुने, सार्वजनिक ठाउँमा जादाँ कम्तीमा एक जना पारिवारिक पुरुष सदस्यसँग जानु पर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्ने, लगायतका नियम लगाएको थियो । तालिवान नेताहरुको यो नीतिको विश्वभरबाट आलोचना र विरोध भएपछि अहिले उनीहरु लचक भएको देखिएको छ ।

तालिवान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाहरुको स्वतन्त्रता कुण्ठित गरेको भन्दै धेरै देशले पहिले देखि नै तालिवान सरकारप्रति आशंका गर्दै आएका छन् । अन्य देशहरुले अशंका र असहयोग गरिरहेपछि त्यसलाई न्यूनीकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कूटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्री बीचको बैठक भएको छ ।

त्यही बैठकका लागि अफगान विदेश मन्त्री मुत्ताकी पाकिस्तान आएका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा मुत्ताकी पाकिस्तान आएका छन् ।

पाकिस्तान भ्रमणका क्रममा उनले अफगानिस्तानका लागि अमेरिकाका विषेश दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका छन् ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मुत्ताकी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो । पाकिस्तानमा गत बिहीबार अमेरिका, चीन, रुस र पाकिस्तानका कूटनीतिज्ञहरुसँगै मुत्ताकीको बैठक भएको छ ।

बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो।

तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका चीन, रुस र पाकिस्तानका प्रतिनिधिहरु बैठकमा सहभागी भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू