मंगलबार, चैत ६, २०८०
09:12 | १४:५७

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

रासस–एएफपी अप्रिल २१, २०२१

वासिङ्टन, ८ बैशाख–– कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि संकट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार भएका छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।

कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् ।

“यो कोभिड संकटका लागि विरोधाभास हो,” अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले भने “हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरुमा जोखिम बढ्नेछ ।”

कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरुले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् ।

विश्लेषकहरुको भनाइमा सबै बेरोजगार व्यक्तिहरु आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।

“मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ र कामको खोजी गर्नेहरुमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,” जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् ।

अमेरिकी जनसंख्याको एक चौथाईले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर, यसका बाबजुद देशको तीन चौथाई भाग कोभिड–१९ को संक्रमण हुने जोखिममा छ ।

जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरु पूर्णकालिक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरुका लागि यो अर्को चुनौती हो ।

विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनस्र्थापना भइसकेको छ ।

तैपनि, स्व–रोजगारमा रहेका समेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।

तर अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताए । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ ।

गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीच अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, “कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून–ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।”

भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूहरुले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाइका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदूरलाई घरमै राख्ने थुप्रै कारकहरु रहेको जनाएको छ जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्टसम्म उनीहरुले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् ।

शिकागो शाखाले मानिसहरु रोजगारीमा फर्कन कठिनाई हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाई र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ ।

अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू