बिहीबार, चैत १५, २०८०
09:55 | १५:४०

क्युबाका कम्युनिष्ट पार्टी प्रमुख क्यास्ट्रोको पद त्याग्ने घोषणा

रासस-सिन्ह्वा अप्रिल १७, २०२१

क्युबा । क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताएका हुन् ।

‘मैले मेरो जिम्मेवारी र योजनाहरु पूरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु, उनले भने ।  नेता क्यास्ट्रोले आफ्नो भूमिका र निर्णयबाट आफू सन्तुष्ट रहेको र यसबाट आगामी दिनमा पनि देशलाई फाइदा नै हुने विश्वास व्यक्त गरे 

पार्टीको आठौँ सम्मेलनको उद्घाटन समारोहमा सम्वोधन गर्ने क्रममा उनले पार्टी र देशलाई नयाँ गति दिन आफ्नो निर्णयले सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरे ।पार्टीको अभियान र आन्दोलनमा भने पार्टी कार्यकर्ताको रुपमा आफू सधै रहिरहने पनि ८९ वर्षीय नेता क्यास्ट्रोले स्पष्ट पारेका छन् । 

‘म जीवित रहँदासम्म, मैले सक्दासम्म पार्टीको काममा म सधैँ लागि नै रहनेछु, मातृभूमिका लागि खटिनेछु’, उनले भने ।  उनले आफ्नो उत्तराधिकारी हुने र पार्टीको नेतृत्वमा रहने सवै नेताहरुलाई राष्ट्रियता, समाजवाद, नैतिकता, संस्कृतिको महत्व नभुल्न समेत सचेत गराएका छन् । 

अहिले चलिरहेको पार्टीको सम्मेलन नयाँ नेता चयन गर्दै आगामी सोमबार सकिने भएकाले सम्मेलन सकिएपछि उनी जिम्मेवारीमा नरहने जनाइएको छ ।उनी सन् २०११ को अप्रिलमा पार्टीको शिर्ष नेताका रुपमा निर्वाचित भएका थिए  । आफ्नै दाजु फिडेल क्यास्ट्रोको उत्तराधिकारीका रुपमा उनले  भूमिका निर्वाह गरेका थिए । सन् १९६५ देखि पार्टीको नेतृत्व गरेका फिडेलको सन् २०१६ मा निधन भएको थियो ।

सन् १९५९ को क्रान्तिको नेतृत्वकर्ता भएकाले क्रान्तिपछि लगातार क्युबामा क्यास्ट्रो परिवारले राजनीतिक नेतृत्व गर्दै आएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू