बिहीबार, चैत १५, २०८०
11:41 | १७:२६

भारतमा रुसी खोप ‘स्पुतनिक भी’लाई अनुमति

रासस–एएफपी अप्रिल १३, २०२१

नयाँदिल्ली । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवम् व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ । 

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको एस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोनटेकको खोपलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड संक्रमितको संख्या एक लाख बढी छ । 

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको ‘स्पुतनिक भी’ लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा रहेको बताए । 

भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकांक्षी  योजना छ । तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तीव्रता दिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू