शनिबार, साउन १२, २०८१
02:17 | ०७:०२

ब्राजिलमा एकै दिनमा अहिलेसम्मकै बढी ४२ सयको मृत्यु

रासस-सिन्ह्वा अप्रिल ९, २०२१

ब्राजिल । ब्राजिलमा कोरोनाभाइरसका कारण एकैदिनमा थप चार हजार २४९ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या तीन लाख ४५ हजार २५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दैनिक चार हजारभन्दा बढीको मृत्यु भएको एकै हप्तामा यो दोस्रो पटक भएको जनाएको छ । यसअघि गत मङ्गलबार ब्राजिलमा कोरोनाका कारण एकैदिनमा चार हजार १९५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

सरकारी अधिकारीहरुले अप्रिल महिनामा कोरोनाका कारण नराम्रो क्षति धेरै व्यहोर्नुपर्ने अवस्था रहेको बताएका छन् । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८६ हजार ६५२ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । योसँगै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितको कुल संख्या एक करोड ३२ लाख ७९ हजार ८५७ पुगेको छ ।

ब्राजिलमा मध्य जनवरीदेखि कोरोनाभाइरसविरुद्ध खोप अभियान शुरु भएको छ । तर संक्रमित र मृतकको संख्यामा भने कमी आएको छैन । देशभरी अहिलेसम्म दुई करोड ७५ हजार ११ हजार ५३७ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको सूचीमा ब्राजिल दोस्रो क्रममा छ । ब्राजिलमा भन्दा धेरै अमेरिकामा कोरोनाको असर परेको छ ।   हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण निकै तीव्र बन्दै गएको छ । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । 

देशको जनसंख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन् । हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको विज्ञहरुको दाबी छ ।

तर, राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू