शनिबार, साउन १२, २०८१
07:02 | ११:४७

बेलायतमा एक साताभित्र मृतक संख्यामा ३२.५ प्रतिशतले ह्रास

२४ घन्टामा ५३ जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल ८, २०२१

लन्डन । बेलायतमा अप्रिल २ देखि अप्रिल ८ तारिखसम्म एकसाताभित्र २१६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अघिल्लो साताको तुलनामा मृतक संख्या ३२.५ प्रतिशतले ह्रास आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले उल्लेख गरेको छ । बेलायतमा पछिल्लो २४ घन्टामा ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २६ हजार ९८० पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो एक सातामा २० हजार ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित संख्यामा पनि अघिल्लो हप्ताको तुलनामा ३७.३ प्रतिशतले ह्रास आएको हो ।

बितेको २४ घन्टामा तीन हजार ३० नयां संक्रमित थपिएका छन् । थपिएका नयाँ  संक्रमितको बेलायतमा कोरोना संक्रमितको संख्या ४३ लाख ७० हजार ३२१ पुगेको छ ।

गएको केहि दिनयता संक्रमित संख्या तीन हजार भन्दा कम रहँदै आएको छ । गत फेब्रुअरीदेखि मार्चसम्मको तथ्यांक अनुसार कोरोना संक्रमण दर ६० प्रतिशतले कम भएको बताइएको छ ।

६०.४  प्रतिशतले लगाए खोपको पहिलो डोज

बेलायतमा ६०.४ प्रतिशत वयस्कले खोपको पहिलो डोज लिईसकेका छन् । यसैगरि ११.६ प्रतिशत वयस्कले खोपको दुवै डोज लगाइसकेको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ ।

कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयता तीन करोड ७८ लाख भन्दा बढी डोज खोप वितरण भइसकेको छ ।

स्वास्थ्य विभागद्वारा सार्वजनिक सोमबारसम्मको तथ्यांक अनुसार हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ७८ लाख ९९ हजार २९ डोज खोप वितरण भइसकेको छ ।

तीन करोड १८ लाख ७ हजार १२४ जनाले खोपको पहिलो डोज लिएका छन् भने ६० लाख ९१ हजार ९०५ जनाले खोपको दोस्रो डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू