शुक्रबार, वैशाख १४, २०८१
15:58 | २०:४३

अमेरिकामा अप्रिल १९ देखि सबै वयस्कले खोप पाउने

रासस-सिन्ह्वा अप्रिल ७, २०२१

वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाकाविरुद्धको खोप पाउने घोषणा गरेका छन् ।

उनले अमेरिकाको अलेक्जेन्डेरिया र भर्जिनियामा खोप निर्माण भइरहेका स्थानहरुको भ्रमण गरेपछि मंगलबार नयाँ घोषणा गरेका हुन् ।

यसअघि राष्ट्रपति बाइडेनले आगामी मे १ तारिखदेखि अमेरिकाका सबै जना नागरिकलाई खोप दिइने भनेर घोषणा गरेका थिए । तर पनि यहाँ जति सक्दो चाँडो खोप दिनुपर्ने माग बढ्दै गएको छ । यसरी माग बढेपछि उनले नयाँ घोषणा गरेको जनाइएको छ ।

राष्ट्रपतिका अनुसार अमेरिकामा गएको ७५ दिनमा यहाँका कम्तीमा पनि १५ करोड डोज खोप लगाइसकिएको छ । तर पनि यस समयभित्रमा यहाँ खोप लगाउन शुरु गरिएको १०० दिन भित्रमा २० करोड खोप दिइसक्नुपर्ने लक्ष्य लिइएको थियो ।

राष्ट्रपति बाइडेनले आगामी मे महिनासम्ममा यहाँ अझै महामारीको अवस्था बढ्ने कुरा विज्ञहरुले भनेकाले अझ सतर्क र सुरक्षित रहन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, हामीले आगामी दिनमा अझै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ त्यसैले थप सजग बनौँ, मास्क लगाउँ र जनस्वास्थ्यका मापदण्डहरु राम्रोसँग पालना गरौँ ।

उनले अमेरिकामा पछिल्लो समयमा पनि कोभिडका संक्रमितहरु बढिरहेकोले अबका दिनमा यहाँ अझै समस्याको सामना गर्नुपर्ने अवस्था रहेको र अहिले नै कोभिडका विरुद्धमा विजय हासिल गर्ने अवस्था नरहेको भए पनि केही समयभित्रै सबै अमेरिकीलाई खोप भने दिइसक्ने जानकारी दिए ।

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देशमा पर्दछ । यहाँ अहिलेसम्म तीन करोड १५ लाख भन्दा बढी मानिस कोरोना भाइरस संक्रमित भएका छन् भने यहाँका ५ लाख ७० हजार भन्दा बढी मानिसको कोभिड १९ को संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू