शनिबार, साउन १२, २०८१
06:46 | ११:३१

इजरायलमा नयाँ सरकार बनाउन नेतान्याहुलाई राष्ट्रपतिको आह्वान

रासस/सिन्ह्वा अप्रिल ६, २०२१

बेन्जामिन नेतान्याहु । तस्बिर एपी

जेरुसेलम, २४ चैत–इजरायलमा नयाँ सरकार गठन गर्न राष्ट्रपति रुभेन रिभ्लिनले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आह्वान गरेका छन् ।

निर्वाचनको अन्तिम नतिजा घोषणा हुन नसकेको भए पनि राष्ट्रपतिले मङ्गलबार सरकार गठनका लागि पहल थाल्न नेतान्याहुलाई आह्वान गरेका हुन् । देशको सबैभन्दा लामो समय नेतृत्व गरेको नेताका रुपमा नेतान्याहुलाई अगाडि सारिएको राष्ट्रपति कार्यालयको भनाइ छ ।

संसद्मा कूल सांसद संख्या १२० रहेकाले बहुमतको सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन चाहिने अवस्था छ ।

अहिलेसम्म सार्वजनिक भएको र स्वीकारिएको नतिजानुसार नेतान्याहुको पक्षमा ५२ सांसद रहेको बताइएको छ । बाँकी अपुग सांसद व्यवस्थापन गर्न सके उनकै नेतृत्वमा सरकार बन्नसक्ने देखिएको छ ।

अहिले नै बहुमत नभए पनि अरुले भन्दा धेरै सांसदहरुको सर्मथन नेतान्याहुलाई रहेको देखिएकाले उनले नै सरकार बनाउने सम्भावना धेरै देखिएको बताइएको छ ।

राष्ट्रपति रिभ्लिनले भनेका छन्, ‘आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सरकार गठन गर्न आह्वान नगरेको भए हुन्थ्यो भन्ने धेरैलाई लागेको हुनसक्छ, तर कानूनमा आरोपीलाई प्रधानमन्त्री बन्न अवरोध गरिएको छैन् भने उहाँलाई जतिको सजिलो अरुलाई नहुने देखेर उहाँलाई रोजेको हुँ ।’

नेतान्याहुलाई भ्रष्टाचार गरेको आरोपमा अहिले तीन वटा मुद्दा लगाइएको छ । उनी सन् २००९ देखि राज्यको शक्तिकेन्द्रमा छन् ।

इजरायलमा गत २३ मार्चमा निर्वाचन भएको थियो । पछिल्लो दुई वर्षमा उक्त निर्वाचन चौथो हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू