शनिबार, साउन १२, २०८१
03:19 | ०८:०४

जापानद्वारा उत्तर कोरियामाथिको प्रतिवन्ध दुई वर्ष थप

रासस–एपी अप्रिल ६, २०२१


टोकियो । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिवन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र निर्माणको कार्यलाई निरन्तरता दिएको तथा अपहरणमा परेका जापानी नागरिकको विषय टुंग्याउन ठोस पहल नगरेको भन्दै जापानले प्रतिवन्ध थप गरेको हो ।

जापानले लगाएको प्रतिवन्धमा उत्तर कोरियाले विश्वका अरु देशसँगको व्यापारमा प्रतिबन्ध लगाउने तथा मानवीय उद्देश्य बाहेक उत्तर कोरियामा दर्ता भएका जहाजहरुलाई जापानी बन्दरगाहमा प्रवेश नदिइने उल्लेख छ ।

उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघीय प्रतिवन्धलाई पनि जापानले अनुशरण गर्नेछ । राष्ट्रसंघीय प्रतिवन्धमा हातहतियारको व्यापारमाथि प्रतिवन्ध, उत्तर कोरियाली सम्पत्ति रोक्का, जनता–जनताबीचको आदानप्रदान तथा शिक्षा र तालिममा प्रतिवन्धहरु समावेश छन् ।

जापानका मुख्य सचिव कात्सुनोबु काटोले मन्त्रिपरिषदको बैठकले उत्तर कोरियामाथिका प्रतिबन्धलाई अरु दुई वर्ष बढाउने निर्णय गरेको जानकारी दिए । यसअघि घोषणा गरिएको प्रतिवन्धको म्याद आगामी अप्रिल १३ मा समाप्त हुँदैछ ।

उत्तर कोरियाले करिब एक वर्षको अवधिमा पहिलो पटक गत मार्च २५ मा दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानले उक्त परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावको उल्लंघन भन्दै भर्त्सना गरेको थियो । जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले राष्ट्रसंघीय प्रतिवन्धको पूर्ण कार्यान्वयनका लागि आग्रह गरेका छन् ।

सन् १९७० /१९८० को दशकमा १३ जना जापानी नागरिकलाई अपहरण गरेको उत्तर कोरियाले सन् २००२ मा स्वीकार गरेको थियो । उनीहरुलाई जापानी भाषा र संस्कृतिका विषयमा उत्तर कोरियाली गुप्तचरहरुलाई प्रशिक्षित तुल्याउन अपहरण गरिएको थियो । पछि पाँच जनालाई भने जापान फर्कन अनुमति दिइएको थियो । उत्तर कोरियाले बाँकीको मृत्यु भएको वा उत्तर कोरिया नै प्रवेश नगरेको दाबी गर्दै आएको छ ।

जापानले अरु पनि जापानी नागरिकलाई उत्तरले अपहरण गरेको हुनसक्ने विश्वास गर्दै आएको छ र तीमध्ये धेरैजसो जीवितै रहेको हुनसक्ने जापानको भनाइ छ । अपहृत जापानी नागरिक र आणविक हतियार एवं क्षेप्यास्त्र विकासका कार्यले दुबै मुलुकबीचको सम्बन्ध चिसिएको छ । यी दुबै मुलुकबीच कूटनीतिक सम्बन्ध समेत कायम छैन ।

प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो प्रशासनले अपहृत जापानी नागरिकको विषयलाई उच्च प्राथमिकता दिइने बताउँदै आएका छन् । उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग विनाशर्त वार्ता गर्न खुला रहेको बताइसकेका छन् ।

जापानले उत्तर कोरियामाथि सन् २००६ मा सीमित प्रतिवन्धहरु लगाउन शुरु गरेको थियो । तर, त्यसयता जापानले त्यस्तो प्रतिवन्धलाई थप विस्तार र व्यापक बनाउँदै लगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू