शुक्रबार, वैशाख १०, २०७८
05:42 | १०:२७

कोरोना संक्रमण बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा   

रासस-सिन्ह्वा अप्रिल ५, २०२१

फाइल फोटो

मुम्बई । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्ध घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागू गरेको हो ।

यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागू हुने बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै यहां पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउन एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय गरेका थिए ।

भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले यहाँका नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताएका थिए । उनले यहाँको सरकारले आग्रह गरेपनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि समेत केही संक्रमित भएको जानकारी दिए ।

उनले टेलिभिजन सम्बोधनका क्रममा भनेका छन्– ‘मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू