बिहीबार, वैशाख ६, २०८१
02:04 | ०६:४९

अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता हुँदै

एनआरएनए र अनेसास को संयुक्त पहलमा

नेपाली लिङ्क अप्रिल ४, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त पहलमा पहिलोपल्ट विदेशमा छरिएर रहेका नेपाली युवाहरुबीच ‘अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता २०७७’ हुने भएको छ ।

आगामी मे १ तारिख अर्थात् २०७८ बैशाख १८ गते आयोजना हुने उक्त प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् ।

प्रतियोगितामा पहिलो हुने नेपाली भाषाको कवितामा एकजनालाई एक हजार डलर, दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ । यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ ।  समितिले यस अघि सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो ।

सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन् । प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संयोजक वाग्लेको भनाई छ ।

एनआरएनए पूर्व कोषाध्यक्ष तथा  एनआरएनए भाषा, साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए ।

थापाका अनुसार, भर्चुअल (जुम) प्रविधि मार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहनेछन् ।

प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएको छ । जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनौट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ । छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ-आफ्ना कविता प्रत्यक्ष वाचन गराइनेछ ।

वाचन गरिएका मध्ये उत्कृष्ठ तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन् । वरिष्ठ कवि बैरागी काइँला मुख्य निर्णायक रहने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमूख प्राध्यापक डा. हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक छन् भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू