मंगलबार, वैशाख ४, २०८१
07:18 | १२:०३

ब्राजिलका सेना, नौसेना र हवाई सेनाका प्रमुखहरुको एकसाथ राजीनामा

रासस-सिन्ह्वा मार्च ३१, २०२१


ब्राजिल । ब्राजिलमा सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिएको यहाँको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

राष्ट्रपतिले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरुले राजीनामा दिएको बताइएको छ ।

राष्ट्रपति जइर बोल्सोनारोले राजनीतिक संकट जेलिरहेका यस अवस्थामा पुनः सेनातर्फका तीनवटा उच्च पदबाट राजीनामा आएको जनाइएको छ । राष्ट्रपतिसँग मतभेद भएर ब्रजिलका सेना, नवसेना तथा हवाई सेनाका प्रमुखहरूले एकसाथ राजीनामा दिनु यहाँको इतिहासमा सन् १९८५ पछिको पहिलो घटना भएको बताइएको छ ।

गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य भएका थिए । बोल्सोनारोका समर्थक मानिएका विदेशमन्त्रीले सांसदहरूको आलोचनापछि राजीनामा दिएको भोलिपल्टै सेना, नौसेना र हवाई सेनाका प्रमुखहरूको राजीनामा आएको छ ।

सन् २०१९ जनवरीमा बोल्सोनारोले सत्ता सम्हालेयताकै सबैभन्दा ठूलो राजनीतिक संकट सामना गर्नुपरेको छ । कोरोना भाइरस संक्रमणका कारण विश्वमा दोस्रो स्थानमा परेको ब्राजिलमा कोरोनाभाइरस महामारीलाई लिएर राष्ट्रपतिको लोकप्रियता खस्कँदो अवस्थामा छ ।

ब्राजिलमा कोरोनाभाइरसका कारण अहिलेसम्म तीन लाख १४ हजार व्यक्तिको ज्यान गइसकेको छ भने एक करोड २५ लाखमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू