शुक्रबार, वैशाख १४, २०८१
04:49 | ०९:३४

टोकियोमा फेरि बढे संक्रमित

नेपाली लिङ्क मार्च २४, २०२१

टोकियो । तस्बिर एपी

टोकियो । जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल संक्रमितको संख्या एक लाख १८ हजार ४६१ पुगेको छ । टोकियोमा बुधबार दोस्रो पटक दैनिक संक्रमितको संख्या ४ सय नाघेको हो । यसअघि अघिल्लो एकैदिनमा ४०९ जना संक्रमित भएका थिए ।

सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ संक्रमित थपिएका थिए ।टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको हो ।

कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण संक्रमण थप फैलिएको दाबी गरेका छन् । पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ संक्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना संक्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू