शुक्रबार, चैत १६, २०८०
20:19 | ०२:०४

रोहिङ्ग्या शिविरको आगलागीमा कम्तीमा १५ शरणार्थीको मृत्यु

रासस–एपी मार्च २४, २०२१

बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।

आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताइन् । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । 

शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ ।

म्यान्मारको सेनाको दमनबाट भागेका १० लाखभन्दा बढी शरणार्थी बंगलादेशमा निकै साँघुरा शिविरहरुमा रहेका छन् । यी शरणार्थीहरु सन् २०१७ मा बढी मात्रामा बंगलादेश आइपुगेका थिए । हाल बंगलादेशको रोहिङ्ग्या शिविर विश्वकै सबैभन्दा ठूलो हो । 

बंगलादेशले रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन विगतदेखि नै चाहेको छ । यसका लागि विगतमा म्यान्मार र बंगलादेशबीच सहमति भएपनि रोहिङ्ग्या शरणार्थीहरु म्यान्मारमा सुरक्षाको भरपर्दो स्थिति नरहेको भन्दै फर्कन अस्वीकार गरिरहेका छन् । 

रोहिङ्ग्या शिविरको आगो नियन्त्रणमा ल्याउन एक हजार भन्दा बढी कर्मचारी, स्वयंसेवक र अग्निनियन्त्रकहरु खटिएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू