शुक्रबार, वैशाख १४, २०८१
17:56 | २२:४१

न्यूयोर्कमा पत्रकार पन्थीलाई दर्जन बढी संस्थाको अभिनन्दन

नेपाली लिङ्क मार्च २३, २०२१

न्यूयोर्क । खसोखासका प्रधानसम्पादक किशोर पन्थी नागरिक अभिनन्दन सम्मानबाट सम्मानित भएका छन् । एक दशकदेखि अमेरिकाको न्यूयोर्कलाई कर्मथलो बनाएका पत्रकार पन्थीलाई समुदायमा सहि सूचना प्रदान गरेको भन्दै न्यूयोर्कमा दर्जन बढी मुख्य संस्थाबाट संयुक्त रुपमा नागरिक अभिनन्दन गरेका हुन् ।

न्यूयोर्कमा आयोजित एक सार्वजनिक कार्यक्रममा सम्मानित भएका पत्रकार पन्थीले अमेरिकी अध्यागमन लगायत अमेरिकामा रहेको नेपाली समुदायलाई आवश्यक पर्ने विभिन्न विषयमा बिशेष रुचीका साथ कलम चलाउँदै आएका छन् । नेपालको गुल्मी जिल्लामा जन्मिएका पत्रकार पन्थी करिव डेढ दशक भन्दा लामो समयदेखी सकृय पत्रकारितामा छन् ।

वार्म फाउण्डेशनको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना, शेर्पा केदुंग अमेरिका, ग्लोबल पानस, नेपाली समाज अमेरिका, नेपाली अमेरिकन कलाकार संघ एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर, हामी नेपाली ग्लोबल, रोटरी इन्टरनेशनल, रिजउड नेपाली समाज अमेरिका, मिथिला सेन्टर अमेरिका लगायतका संघ संस्थाबाट नागरिक अभिनन्दन प्रदान गरिएको हो । 

अभिनन्दन पत्रमा जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवासी नेपाली मञ्च अमेरिका अध्यक्ष टेक गुरुङ, वार्म फाउण्डेशन अध्यक्ष राजन थपलिया, फिप्ना अध्यक्ष लोकचेम्जोङ, शेर्पा केदुंग अध्यक्ष छिरिङ शेर्पा, ग्लोबल पानस संयोजक प्रेमकुमार श्रेष्ठ, नेपाली समाज अमेरिका अध्यक्ष समिर महर्जन, नेपाली अमेरिकन कलाकार संघ महासचिव बिमल डाँगी, एनआरएनए न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी, हामी नेपाली ग्लोबल अध्यक्ष अमृत लामा, रोटरी अध्यक्ष खाम भट्ट, रिजउड नेपाली समाज अध्यक्ष राजेश भट्ट र मिथिला सेन्टर संस्थापक अध्यक्ष अमित साह, व्यवसायी लोक तिवारी, स्थानीय राजनीतिज्ञ नवराज केसी लगायतले हस्ताक्षर गरेका छन् । 

उनीहरुमध्ये अधिकांशले कार्यक्रममा प्रत्यक्ष र भर्चुअल रुपमा उपस्थित भएर शुभकामना समेत दिए । उनीहरुले अमेरिकामा रहेका नेपालीहरुका लागि खसोखास समाचार सहयात्री बनेको भन्दै प्रशंसा गरे । विगत १० बर्षदेखि पूर्णकालिन रुपमा पत्रकारितामा सकृय रहेर समुदायको हितमा निरन्तर लागेकोमा उनीहरुले पत्रकार पन्थीलाई धन्यवाद समेत दिए । 

पत्रकार किरण मरहठ्ठाले यो सम्मान अमेरिकामा रहेका सबै नेपाली पत्रकारका लागि गरिएको सम्मान रहेको बताए । शेर्पा किदुगका पूर्व अध्यक्ष उर्गेन शेर्पाले १० बर्ष अगाडि पत्रकार पन्थीले अमेरिकामा आएर बनाएको समाचार रिपोर्टले पारेको प्रभाव स्मरण गर्दै खसोखासले अमेरिकामा रहेका नेपालीहरुलाई आफ्नै भाषामा अध्यागमन र मुलधारका सबै विषयमा जानकारी उपलब्ध गराएका कारण अरु संचारमाध्यम हेर्नै नपर्ने बनाएको बताए । 

सम्मान कार्यक्रममा वार्म फाउण्डेशनका तर्फबाट एकहजार डलरको चेक समेत प्रदान गरिएको छ । वार्म फाउण्डेशनका सामाजिक व्यक्तित्व रायन लाम्गादे, संचारकर्मी दीपक परियार र स्थानीय राजनीतिज्ञ जर्ज अनुओरा लगायतले उक्त चेक हस्तान्तरण गरेका थिए । सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका महासचिव नरेन्द्र थापामगर, संचारकर्मी सुरेश शाही, कलाकार यम बराल, बिक्की पुलामी र चमेली परियार लगायतले कार्यक्रममा शुभकामना दिएका थिए । 

विदेशमा समेत पत्रकारितालाई नै मूल पेशा बनाइरहेका पत्रकार पन्थीसंग रेडियो, टेलिभिजन, छापा र अनलाईन पत्रकारिता क्षेत्रमा सम्पादकीय भूमिकामा रहेर काम गरेको अनुभव छ । उनी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट मान्यता प्राप्त पहिलो नेपाली पत्रकार समेत हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू