मंगलबार, वैशाख ११, २०८१
19:00 | २३:४५

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या   

रासस–एएफपी मार्च २३, २०२१

बाउल्डर, संयुक्तराज्य अमेरिका, १० चैत–अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्न सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि छन् ।

प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा विभत्स हत्या शृंखला रहेको जनाएको छ ।

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए ।

प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सूपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेका ५१ वर्षीय प्रहरी एरिक टाल्लीको पनि गोली लागेर मृत्यु भएको जानकारी दिए ।

लाइभस्ट्रिम गरिएको भिडियोमा एक जना श्वेत अधबैंसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको थियो ।

राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छन् । बाइडेनले गत महिना पनि बन्दुक राख्ने बारेमा सुविचारित निर्णय गर्न संसद समक्ष आग्रह गरेका थिए ।

कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

सुपरमार्केट भित्र रहेका उक्त घटनाका प्रत्यक्षदर्शीहरुले पछाडिको ढोकाबाट भाग्नुअघि धेरै पटक गोलीको आवाज सुनेको बताएका छन् । आठ पटक बन्दुकको गोलीको आवाज सुनेका रायन बोरोस्कीले आफू भाग्यले बाँचेको सिएनएनलाई प्रतिक्रिया दिएका छन् ।

दर्जनौं बख्तरबन्द गाडी, एम्बुलेन्स र सशस्त्र प्रहरी तत्कालै घटनास्थल पुगेका थिए ।

कोलोराडोमा अमेरिकी इतिहासमै निकै डरलाग्दा दुई वटा आमहत्याका घटना भइसकेका छन् । सन् १९९९ मा दुई जना युवाले आफूहरुले आत्महत्या गर्नुअघि कोलम्बाइन उच्च माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षक गरी १२ जनाको हत्या गरेका थिए ।

त्यसपछि सन् २०१२ मा एक जना भारी हातहतियार लिएका एक व्यक्तिले कोलोराडोको अरोरास्थित चलचित्र हलभित्र प्रवेश गरी गोली चलाएर १२ जनाको हत्या गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू