शुक्रबार, वैशाख १४, २०८१
06:36 | ११:२१

अस्ट्राजेनिका खोप शतप्रतिशत प्रभावकारी: अमेरिकी अध्ययन

रासस/एएफपी मार्च २३, २०२१


वासिङ्टन, ९ चैत–कोरोनाभाइरस विरुद्ध प्रयोग हुंदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी पाइएको छ ।

कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो । अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ । त्यसैगरी, यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्र्डले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गरे ।

युरोपेली मुलुक लगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारीता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो ।

यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

तर कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् । विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् ।

कतिपय देशहरुले यो खोप लगाउन रोकेको र कतिपयले यो खोप्रति शङ्का उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरु फेरि ढुक्क हुने भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू