शुक्रबार, वैशाख ७, २०८१
07:30 | १२:१५

भारतमा संक्रमित र मृतकको संख्या लगातार बढ्दै

रासस-सिन्ह्वा मार्च २२, २०२१

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या  फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब  ४७ हजार संक्रमित भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमितको यो संख्या यसवर्ष शुरु भएयताको नै सबभन्दा बढी हो । यस अवधिमा कोरोना संक्रमणबाट २१२ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ५९ हजार ९६७ पुगेको सोमबार मन्त्रालयले जनाएको छ   

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या एक करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जानकारी दिएको  छ । कूल संक्रमितमध्ये तीन लाख ३४ हजार ६४६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड ११ लाख ५१ हजार ४६८ जना संक्रमणमुक्त भएका छन् । 

भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म चार करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना भाइरस देखिएको र एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९५६ जनाको मृत्यु भइसकेको छ । 

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार आइतबारसम्म भारतमा २३ करोड ४० लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । आइतबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू