शनिबार, साउन १२, २०८१
06:13 | १०:५८

जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’

रासस–एएफपी मार्च २२, २०२१

पेरिस । कोरोनाभाइरस महामारीका कारण ठूलै क्षति व्यहोरेको युरोपमा आगामी जुलाई महिनासम्ममा ‘हर्ड इम्युनिटी’ (सामूहिक रोगप्रतिरोधी क्षमता) निर्माण हुन सक्ने युरोपेली युनियनका एक आयुक्तले बताएका छन्   

युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाईले अविश्वसनीय भए पनि केही आशाको किरण देखा परेको छ । 

कोभिडको तेस्रो लहर देखा परेको भन्दै युरोपका धेरै मुलुकमा फेरि लकडाउन र प्रतिबन्धहरु घोषणा गर्न थालिएका छन् । कोभिड संक्रमण तीव्र रुपमा फैलिएपछि जारी गरिएका लकडाउनको विरोधमा पनि मानिसहरु सडकमा उत्रिएका छन् भने कोभिडको खोपको विश्वसनियतामाथि शंका उत्पन्न भएपछि थप समस्या सिर्जना भएको छ ।

युरोपेली आयोगका आयुक्त थिएरी ब्रेटोनले जुलाई १४ सम्ममा अर्थात् अबका चार महिना भित्रमा युरोपमा रोगप्रतिरोधी क्षमता (इम्युनिटी) तयार हुने बताए । उनले भने, ‘कोरोना महामारीलाई परास्त गर्न एउटा मात्रै उपाय छः त्यो हो खोप । अहिले बजारमा खोप उपलब्ध हुनेक्रम बढेको छ ।’

फ्रान्सको एक तिहाईभन्दा बढी जनसंख्या अहिले लकडाउनमा छ भने लकडाउन र कडा प्रतिबन्धका विरुद्धमा जर्मनी, आम्स्टर्डम, बुल्गेरिया र स्वीट्जरल्यान्डमा प्रदर्शन भइरहेका छन् ।

रगत जम्ने समस्या देखिएको आशंकामा अस्ट्राजेनिकाको खोप लगाउनेक्रम स्थगित भएको र युरोपेली मुलुकमा अस्ट्राजेनिकाको खोपको उपलब्धतामा कमी आएकाले पनि युरोपमा समस्या देखिएको छ । 

तर, युरोपेली औषधि नियामक निकायले अस्ट्राजेनिकाको खोप सुरक्षित र प्रभावकारी रहेको जनाएसँगै खोप अभियान पुनः शुरु भएको छ । 

आयुक्त ब्रेटोनले यही मार्च र जुन महिनाबीचको अवधिमा युरोपमा कम्तीमा ३० देखि ३५ करोड डोज खोप उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले युरोपमा ५५ वटा कारखानाबाट खोप उत्पादन हुने भएकाले पनि खोप उपलब्धतामा समस्या नरहने बताए   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू