शनिबार, वैशाख ८, २०८१
02:35 | ०७:२०

पाकिस्तानी प्रधानमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण

रासस/एएफपी मार्च २०, २०२१

प्रधानमन्त्री खान खोप लगाउंदै । सिन्हवा

इस्लामावाद, ७ चैत–  पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् ।

पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताएका छन् ।

कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि खानलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ । ६८ वर्षीय प्रसिद्ध पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।’

प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र ज्वरो आएको र उनको शनिबार नै परीक्षण हुँदा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता सहबाज गिलले पुष्टि गरे ।

प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उनको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यसैबीच प्रवक्ता गिलले भने, ‘सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईंको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।’

पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड–१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू