शुक्रबार, वैशाख १०, २०७८
22:28 | ०३:१३

कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन   

रासस-सिन्ह्वा मार्च १९, २०२१

पेरिस –कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गरेका छन् ।

उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा गरेका हुन् ।

उनले यहाँका बढी प्रभाावित विभिन्न १६ ओटा राज्यमा यस्तो नियमको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले करिब चार महिनाअघि मात्र पनि दोस्रोपटक लकडाउनको घोषणा गरेका थिए ।
तर प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको जस्तो कडा नरहेको र यहाँका नागरिकले आफ्नो घरमा भने बस्नुपर्ने बताए ।

पहिलेका लकडाउनमा यहाँ एक किसिमले कफ्र्यु नै लगाएजस्तो हुने गरेकामा अहिले त्यस्तो नभएर नागरिकहरुले घरमा बस्नुपर्ने मात्र रहेको बताइएको छ ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउन घोषणा गरेका हुन् । यो लकडाउनको समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्काेमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।

विद्यालयहरु भने खुला राखिएको छ तर यहाँको सरकारले तय गरेका मापदण्डहरु पूर्ण रुपमा लागू गरेर मात्र विद्यालय खोल्न सकिने बताइएको छ । उता काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमिटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।

प्रधानन्त्रीले बिहीबार पत्रकार सम्मेनलमा रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने तर विद्यालय र उद्योगहरु भने खुला हुने बताए ।

फ्रान्समा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ भने दैनिक ३० हजार भन्दा बढी संक्रमित थपिदै गएका छन् । गएको २४ घन्टायताको अर्थात् बिहीबार मात्रको तथ्यांकमा यहाँका ३५ हजार जनामा कोरोना संक्रमण देखिएको छ । यो समयमा मात्र २६८ जनाको संक्रमणबाट निधन भएको छ ।

पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको देखिएको छ । फ्रान्समा अहिलेसम्ममा करिब ४२ लाख जनालाई संक्रमण देखिएको छ । त्यसैगरी यहाँ यस महामारीबाट मृत्यु हुनेको संख्या ९१ हजार भन्दा बढी पुगेको बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू