बिहीबार, चैत १५, २०८०
08:51 | १४:३६

दक्षिण कोरिया पुगे अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री

रासस–एएफपी मार्च १७, २०२१


सियोल । अमेरिकी रक्षा मन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिन्केन दक्षिण कोरियाको भ्रमणका सिलसिलामा सियोल आइपुगेका छन् ।

चीन मामिला र उत्तर कोरिया मुख्य मुद्धा बनाएका मन्त्रीद्वयले अमेरिकासँगको दक्षिण कोरियाको सम्बन्धलाई थप सुदृढ बनाउन प्रयास गर्ने बताइएको छ । उनीहरुले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग छलफल गर्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उदीयमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ ।

उनीहरुले यसअघि जापानको भ्रमण गरेका थिए । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।

टोकियोबाट सियोल प्रस्थान गर्नुअघि अमेरिकी विदेश मन्त्री ब्लिन्केनले देशभित्र बढी दमन र विदेशमा तिब्रताका साथ विस्तार हुने चाहना चीनले राखेको आरोप लगाए । उनले पूर्व तथा दक्षिण चीन सागरदेखि ताइवानमाथि चीनले जबर्जस्ती गर्न खोजिरहेको बताए ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नुपरेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् ।

अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्णआणविक निशस्त्रीकरणका लागि आग्रह गरेका छन् ।

उनीहरुले उत्तर कोरियाली आणविक हातहतियार अन्तरराष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताए ।

विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गर्न चाहेनन् । उनले भने, ‘हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौँ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू