बुधबार, वैशाख १२, २०८१
00:10 | ०४:५५

गायिका कोमल वलीद्वारा पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

रासस मार्च ९, २०२१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पुरयाएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गरेकी छन् । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिएकी हुन् ।

वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा भनिएको छ, ‘मेरो इज्जतमा धक्का पुरयाउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या भएको छ ।’

मुलुकी अपराधसंहिता, २०७४ को दफा ३०५ (१), (२) कसूरबमोजिमको सजायँका साथै विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र रु दश हजार जरिवानासमेत गरी हदैसम्मको सजायको माग नेकपा (एमाले) का नेता पन्तविरुद्ध गरिएको छ ।

कसूरको गम्भीरता र प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चारमाध्यमबाट भएको बेइज्जती आदि विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट भराई पाऊँ भन्ने मागसमेत फिरादपत्रमा गरिएको छ ।

पूर्वमन्त्री पन्तले यही फागुन १५ गते राजनीतिक दलको कार्यक्रममा वलीप्रति लक्ष्य गर्दै उनले कसरी सांसद पद पाएको भन्ने अभिव्यक्ति दिएका थिए । एक अनलाइन पत्रिकामा भने पन्तले माफी मागिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू