बिहीबार, वैशाख १३, २०८१
13:49 | १८:३४

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु 

रासस मार्च ५, २०२१

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूहबीच हस्ताक्षर कार्यक्रममा नेत्रविक्रम चन्द आफनो मन्तव्य राख्दै । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुरयाएर उनीहरुलाई छाड्न थालिएको हो ।

‘अदालतमा पुर्पक्षमा पुगेकाको हकमा मन्त्रिपरिषद्कै निर्णय आउनुपर्ला, प्रशासन कार्यालयअन्तर्गत रहेकाका हकमा जिल्लाबाट र अनुसन्धानका क्रममा रहेकाका हकमा सरकारी वकिलको कार्यालयमार्फत आवश्यक प्रक्रिया पुरयाएर छाडिने छ’, केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भने ।

कति जनालाई आज रिहाइ गरियो भन्ने विवरण आइनसके पनि प्रक्रिया पुरयाएर रिहाइको क्रम भने शुरु भइसकेको जनाइएको छ । हप्ताअघि काठमाडौँमा पक्राउ परेका उक्त समूहका नेता धर्मेन्द्र बाँस्तोलालाई समेत आज काभ्रेपलाञ्चोकबाट रिहाइ गरिसकिएको छ ।
प्रहरीका अनुसार हाल चन्द समूहका १४४ नेता–कार्यकर्ता पुर्पक्षका लागि कारागारमा छन् । उसका १८ कार्यकर्ता विरुद्ध अनुसन्धान चलिरहेको छ । विसं २०७५ फागुनपछि प्रहरीले दुई हजार ८२ जना पक्राउ गरेको थियो । उनीहरुविरुद्ध दुई हजार मुद्दा दर्ता भएको थियो । तीमध्ये ९० जना सोधपुछपछि छुटेका र करीब एक हजार ८४० जना मुद्दा दर्तापछि छुटेका थिए ।
सरकार र चन्द समूहबीचको वार्तामा तीनबुँदे सहमति भएसँगै प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो समूहमाथि लाग्दै आएको प्रतिबन्ध हटाएको थियो । त्यसअघि सरकार र नेकपाबीचको वार्तामा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको थियो ।
सहमतिको विस्तृत विवरण आज अपराह्न विशेष समारोहबीच सार्वजनिक गरिँदै छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र  समूहका महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते समूहका गतिविधि सञ्चालनमा रोक लगाएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू