शनिबार, वैशाख ८, २०८१
19:31 | ००:१६

ट्रम्प दम्पतीले जनवरीमै कोभिड खोप लगाएको खुलासा

रासस–एएफपी मार्च २, २०२१


वासिङटन । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाइसकेको तथ्य सार्वजनिक भएको छ ।

उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।

चिकित्सकहरुको सल्लाहमा ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएको उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।

‘राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाउनु भएको थियो,’ उनका सल्लाहकारले भने । उनले अरु विवरण भने दिएका छैनन् ।

तत्कालिन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउँदै आएका थिए । खोप विरोध गर्ने राष्ट्रपतिले नै भित्री रुपमा खोप लगाएको तथ्य सार्वजनिक भएको छ ।

ट्रम्प राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए ।

ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए । त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति छन् । बाइडेनले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू