शनिबार, साउन १२, २०८१
05:47 | १०:३२

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाइ  

रासस-सिन्ह्वा मार्च १, २०२१

सोल, १७ फागुन: दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् । 

राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताएको समाचारमा उल्लेख छ । 

‘‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने । 

दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उनले राष्ट्रिय टेलिभिजनबाट गरेको सम्बोधनका क्रममा सो धारणा राखेका हुन् । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो । 

राष्ट्रपति मुन जाय–इनले भने– ‘मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरु हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ ।’

दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौनदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मुद्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ । 

यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन । 

पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएका बेला दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गरेका हुन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू