बिहीबार, वैशाख १३, २०८१
18:41 | २३:२६

भूकम्पीय जोखिम न्यूनीकरणका लागि युरोपबाट अभियान

नेपालका ३० वटा विद्यालयमा भूकम्पमापक यन्त्र जडान

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२१

लन्डन । भूकम्पीय रुपमा उच्च जोखिममा छ नेपाल । विश्वमा भूकम्प जाने देशहरुमध्ये नेपाल पहिलो स्थानमा नरहेपनि भूकम्पबाट धेरै क्षति भोग्ने देशमा भने रहेको भूगर्भवीदहरुले बताउंदै आएका छन् ।

नेपालमा भूकम्पसम्बन्धि अध्ययन न विद्यालयस्तरको पाठ्यक्रममा छ न त विश्वविद्यालयमा नै । यस्तो अवस्थामा नेपालका विद्यालयहरुमा भूकम्पमापक यन्त्र (सेस्मोमिटर) जडान गरेर शिक्षकहरुलाई सम्बन्धित विज्ञहरुबाट तालिम दिने, भूकम्प पूर्व तयारीका लागि विद्यार्थीलाई पढाउने, तालिम दिने, भूकम्पबाट बच्ने तरिका सिकाउने तथा उनीहरुले सिकेका ज्ञान समुदायमा लैजाने आदि काममा जुटेका छन् युरोपस्थित एकजना नेपाली वैज्ञानिक र उनको टिम ।

उनीहरुले नेपालका विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम शुरु गर्दै भूकम्पको वैज्ञानिक कारण, भूकम्पका असर र भूकम्पको तयारीका लागि विगत केहि वर्षदेखि काम गरिरहेका छन् ।

स्वीट्जरल्याण्डस्थित ‘युनिभर्सिटी अफ लुजान’ का पोष्ट डक्टरल फेलो डा. शिव सुवेदीले प्रोजेक्ट नेतृत्व गरिरहेका छन् । उनका भनाइमा सन् २०१८ देखि शुरु भएको प्रोजेक्टले नेपालका ३० वटा विद्यालयमा भूकम्पमापक यन्त्र जडान गरिसकेको छ । हाल मुख्यत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका ३० विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । ‘नेपालमा अझै पनि त्यस्ता ठाउं छन् जहां सिंगो समुदायमा भूकम्प भनेको के हो र भूकम्पबाट बच्न के गर्नुपर्छ भन्ने सामान्य जानकारी पनि छैन्’, डा. सुवेदीले भने, ‘हामी त्यस्ता ठाउंमा पनि पुग्न चाहन्छौं जहां भूकम्प शिक्षाका लागि अहिलेसम्म कोहि पुगेको छैन् ।’

उक्त कार्यक्रम देशभर (विशेषगरि पश्चिम नेपाल) सम्म पुरयाउने लक्ष्य राखिएको जनाउंदै सुवेदीले सबैबाट सहयोगको आशा पनि राखेका छन् ।

‘भूकम्प प्राकृतिक विपत्ति हो जसको रोकथाम सम्भव छैन् । त्यसैले हामीले यसको असर कम गर्न सक्ने आधार भनेको तयारी नै हो’, सुवेदी भन्छन्, ‘समुदायमा ज्ञान फैलाउनका लागि विद्यालय नै उत्तम स्थान हो जहां विद्यार्थीले सिकेका कुरा आफ्ना बाबाआमालाई सजिलै बुझाउन सक्दछन् तर आजका मितिसम्म नेपाली पाठ्यक्रममा भूकम्प शिक्षालाई
औपचारिक पाठ्यक्रममा समावेश गरिएको छैन् । ‘

नेपालमा भूकम्पको जोखिमको तुलनामा यसको तयारी नगन्य रुपमा मात्र भएको उनको बुझाइ छ ।

भविष्यमा जाने भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि भूकम्प किन जान्छ, भूकम्पको तरङ्गको प्रकृति कस्तो हुन्छ, कुन भूकम्पले कस्ता भवनहरुलाई असर गर्दछ, भूकम्प जानु अगाडि भूकम्पको तयारी कसरी गर्न सकिन्छ, भूकम्प जांदै गर्दा के गर्ने, भूकम्प गइसके पछि गर्न नहुने कुरा के हुन् तथा के गर्नुपर्छ जस्ता कुराको जानकारी समुदायमा बांडिएको सुवेदीले बताए ।

‘हामीले विद्यालयमा गएर बेला बेलामा भूकम्प सम्बन्धि सैद्धान्तिक कुराहरु सिकाएका छौं, विद्यार्थीलाई नै बिद्यालयमा भूकम्प जांदा के गर्ने भनेर तालिम दिएका छौं, भूकम्प गएको बेला सुरक्षित ठाउं कुन हो भनेर सिकाएका छौं’, सुवेदीले थपे, ‘हाम्रो उपस्थितिमा दिएको ज्ञानले मात्र पर्याप्त नहोला भनेर शिक्षकहरुलाई सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट तालिम पनि दिइरहेका छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू