शुक्रबार, चैत १६, २०८०
09:10 | १४:५५

अघि बढ्दै मध्यपहाडी लोकमार्गको निर्माण

रासस फ्रेब्रवरी १०, २०२१

लमजुङ । पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड निर्माण कार्यले तीव्रगति लिन थालेको छ । विसं २०७२ देखि निर्माण थालनी भएको यस सडकखण्डअन्तर्गत लमजुङ खण्डमा साढे ४८ किलोमिटर पर्छ ।

यस सडकले जिल्लाको राइनास नगरपालिकास्थित लमजुङ र गोरखाको सिमाना चपेनदीदेखि सुन्दरबजार नगरपालिका हुँदै मध्यनेपाल नगरपालिकासम्म ओगटेको छ । लोकमार्ग सडकको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङले बताए । उनका अनुसार हालसम्म जिल्लामा साढे ३७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । सम्पन्न सडकमध्ये साढे १४ किलोमिटर मात्र हालसम्म कालोपत्रे सम्पन्न भएको छ । चेपेनदी पाउँदीसम्म ११ किलोमिटर र रातोमाटो किरेन्चेखण्डको साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाको वडा नं ७ देखि वडा नं ५ सम्म पर्ने पाउँदीदेखि किरेन्चेसम्मको आठ किलोमिटर विवादका कारण काम हुन सकेको थिएन ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय आयोगका उपाध्यक्ष, प्रधानमन्त्री कार्यालयका पूर्वाधार विज्ञ लगायतको टोलीले सो नगरका प्रमुख, जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसहित अन्यपक्षसँग सहमति गरेर लोकमार्गको काम अघि बढाउन थालेको छ । सोहीअनुसार हालै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेको प्रमुख गुरुङको भनाइ छ । त्यस्तै, किरेन्चेदेखि रातोमाटोसम्मको १६ किलोमिटर खण्डमध्ये साढे तीन किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । यस भागमा नाली निर्माण, कालोपत्रे गर्नका लागि बेस राख्नेलगायत काम भइरहेको छ ।

हालसम्म यस भागका भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका इञ्जिनीयर बबिता शर्माले बताइन् । उनका अनुसार सोही रातोमाटोदेखि मिदिमखोलासम्मको सात किलोमिटरको भागमा निर्माण कार्य अघि बढिरहेको छ । यस भागको चार किलोमिटरमा काम भइरहे पनि तीन किलोमिटरमा भने करिब सात वर्षदेखिको विवादित बन्दै आए पनि अब भने काम अघि बढ्ने तयारी भएको बताइएको छ ।

पाउँदीदेखि किरेन्चेको आठ किलोमिटर र रातोमाटोदेखि मिदिमखोलाको तीन किलोमिटर गरी ११ किलोमिटरमा लामो समयदेखि विवादित थियो । कोभिड–१९ का कारण बिजुलीको पोल विस्थापनमा ढिलाइ, ठेक्का सम्झौतामा ढिलाइ र स्थानीयको अवरोधका कारण लक्ष्यअनुसार सडक निर्माणले गति लिन नसकेको र अब भने निर्माणले गति लिने मध्यपहाडी लोकमार्गका आयोजना गोरखाका इञ्जिनीयर शर्माले विश्वास व्यक्त गरिन् ।

उनका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लामा चालु आवभित्र ३० किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य रहेको उक्त कार्यालयले जनाएको छ । लक्ष्यअनुसार कालोपत्रे भएमा चालु आवसम्म साढे ४४ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुनेछ । त्यस्तै, चार किलोमिटर भने कालोपत्रे हुन बाँकी हुनेछ । यी हाल ठेक्का लागेर काम भइरहेको किरेन्चेदेखि रातोमाटोसम्मका लागि रु ३५ करोड ८८ लाख ३ हजार ४४१ बजेट विनियोजन भएर काम अघि बढेको इञ्जिनीयर शर्माको भनाइ छ ।

त्यस्तै उनका अनुसार रातोमाटोदेखि मिदिमखोलासम्मका लागि रु १५ करोड २९ लाख १८ हजार ७०४ रहेको र यी दुबै सडकको काम स्वच्छङ्ग शंकर मालिक खानीदेवी निर्माण व्यवसायीले गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू