शुक्रबार, वैशाख ७, २०८१
01:07 | ०५:५२

कुहिएको चामल खान बाध्य छन् हुम्ली

रासस जनवरी २९, २०२१

फाइल तस्विर

हुमला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ ।

हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने गरेका छन् । सर्केगार्ड गाउँपालिका–१ जैरबाट चार घण्टा पैदल हिँडेर चामल लिन बालुकुना पुगेका स्थानीयवासी धनगडी बलले गुनासो गरे ।

अधिकांश उपभोक्ताले चामल किनेर घर पुर्याइसकेपछि मात्रै चामल गुणस्तरहीन रहेको थाहा पाएका छन् । चामल डल्ला र घुन लागेर खान नमिल्ने खालको भएपछि गाईभैँसीलाई खुवाएको सर्केगार्ड गाउँपालिका–१ का स्थानीयवासी दिलबहादुर कार्कीले बताए । उनले भने, ‘माथिल्लो भाग हेर्दा चामल राम्रै देखिन्थ्यो बीच र तल्लोमा काम नलाग्ने कुहिएर डल्ला परेको रहेछ ।’

फिर्ता गर्न धेरै समय लाग्ने भएकाले अधिकांश उपभोक्ताले चामल, गाईभैँसीलाई खुवाउन बाध्य भएको कार्कीको भनाइ छ । ठेकेदारले जहाँ पायो त्यही गोदाम बनाएर थन्काएर राखेपछि यस्तो समस्या खेप्नु परेको उपभोक्ताहरुले दुःखेसो गर्दै आएका छन् ।

सुर्खेतबाट मुगुको सोरुकोटसम्म गाडीमा र सोरुकोटबाट खच्चर ढुवानी गरी हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को बालुकुना बिक्री केन्द्रसम्म ३२० क्विन्टल चामल पुर्याएको ठेकेदार प्रदीप टमटाले बताए । गाडीमा भिजेको हुनसक्ने हिमाल निर्माण सेवा मुगुका ठेकेदार टमटाले स्वीकार गरे । ‘गाडीवालाको लापरबाही हो’, उनले भने । कुहिएको आधा चामल जैरको खच्चामा त्रिपालले छोपेर राखेको ठेकेदार टमटाले बताए । ‘२५ बोरा सात क्विन्टल सर्केगार्ड जैरको खच्चामा छोपेर राखेको छु’, उनले भने ।

ठेकेदार टमटाले हतारहतारमा मुगु जिल्लाको सोरुकोटमा एक हजार, कार्मारुम एक हजार र बिक्री केन्द्रमा ९०० क्विन्टल चामल पुरयाएका थिए । सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट हुम्लाका उपभोक्ता ठगिँदै आएका छन् ।

एक महिना पहिले सर्केगार्ड गाउँपालिकास्थित सर्केगार्ड डिपोबाट रु एक हजार ३५० पर्ने चामल ठेकेदारले रु दुई हजार मूल्यमा बिक्री गरेको उपभोक्ताहरु बताउँछन् । सर्केगार्ड डिपोमा कर्मचारी नभएपछि ठेकेदारले मनपरीरुपमा चामल बिक्री गरी उपभोक्ताबाट रकम असुल्ने गरेको उनीहरुको भनाइ छ । रु एक हजार ३५० पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल रु दुई हजार तिरेर आफूले किनेको सर्केगार्ड गाउँपालिका–५ का गगन सिंहले जानकारी दिए । आठ बोरा चामल रु १६ हजार तिरेर लिएको सिंहले दुःखेसो गरे ।

गत वर्ष अदानचुली गाउँपालिकाको श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएकाले पैसा मात्रै खेर गएको अदानचुली गाउँपालिका–५ करगाई गाउँका पुनबहादुर छत्यालले दुःखेसो गरे । गत वर्ष श्रीनगर डिपोबाट चामल किनेर खार्पुनाथ गाउँपालिका–३ रायाँका दीपक बुढाले पाँच क्विन्टल चामल किनेर ल्याएको कुहिएको भेटिएपछि त्यतिकै पैसा मात्रै खेर गरेको बताए । पाँच क्विन्टल चामल कुहिएको परेपछि तनाव भएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट कार्यालय गैरजिम्मेवार कुरा गर्दै आएको छ । कर्मचारी नहुँदा केही समस्या भएको कार्यालयको स्वीकारोक्ति छ । चामल सम्बन्धित स्थानमा ल्याउँदा ठेकेदारलाई जिम्मा दिएको सिमकोट शाखा कार्यालय हुम्लाका शाखा प्रमुख निर्मल थापाले बताए ।

‘शाखामा दुईजना मात्रै कर्मचारी छौँ, डिपोमा कर्मचारी छैन हामीले सबैतिर ध्यान पुर्याउन नसकेका हौँ’, शाखाप्रमुख थापाले भने । ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने उनले बताए । ठेकेदारले बिक्री गरेको भए ठेकेदारको जिम्मा हुने थापाले बताए । ‘खाद्यान्न ठेकेदारले उठाउँदा जिम्मेवार भएर ल्याउनुपर्छ’, उनले भने ।

गाउँगाउँबाट उपभोक्ताले शाखा कार्यालय सिमकोटलाई उपभोक्ता ठगिएको बारेमा जानकारी गराउँदा पनि सिमकोट शाखा मौन छ । डिपोहरुमा कर्मचारी नभएपछि ठेकेदारले मनोमानीरुपमा चामल पुर्याउन मनपरीरुपमा वितरण गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू