शनिबार, वैशाख ८, २०८१
13:03 | १७:४८

एनआरएनएको विशेष महाधिवेशन शनिबारदेखि

परराष्ट्रमन्त्री ज्ञवालीले उद्घाटन गर्दै

नेपाली लिङ्क जनवरी २२, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन भोलि शनिबारबाट शुरु हुँदैछ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न विशेष महाधिवेशन डाकिएको हो ।

विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको हो । शनिबार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ ।

अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम छ । सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधि सहभागी हुने संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसकेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ । महाधिवेशनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

सर्वसम्मतको विधान संशोधन प्रस्ताव पेश हुने

गैरआवासीय नेपाली संघ पुनःर्संरचनाका लागि सो महाधिवेशनमा विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।

संघको अभियानमा दीर्घकालीन असर पर्ने महत्वपूर्ण विषयमा विधान संशोधन गर्नुअघि व्यापक छलफल र सहभागिताको माग गर्दै देखिएका अन्तुष्टिहरुलाई समेत समेटेर अधिवेशनमा सर्वसम्मत रुपमा साझा विधान संशोधनको प्रस्ताव पेश हुने संघका अध्यक्ष कुमार पन्तले जानकारी दिएका छन् ।

यसअघि संघले पूर्वप्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा सत्र–सत्र सदस्सीय विधान संशोधन सुझाव समिति गठन गरेको थियो । सोही समितिको सिफारिसलाई आधार बनाएर संघले विधान संशोधन प्रस्ताव तयार गरेको हो ।

यसअघि परराष्ट्र मन्त्रालयले भर्चुअलमाध्यबाट विशेष महाधिवेशन गर्ने स्वीकृति दिएको थियो । संघले संस्थागत संरचना, एनआरएनए फाउन्डेशन, सदस्यता शुल्क, विज्ञ सहभागिता, राष्ट्रिय महाधिवेशनलगायतका विषयमा विधान संशोधनको तयारी गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू