शनिबार, साउन १२, २०८१
06:20 | ११:०५

अन्ततः सकियो ट्रम्प युग, बाइडेनले कार्यभार सम्हाल्दै

नेपाली लिङ्क जनवरी २०, २०२१


न्यूयोर्क । आज जनवरी २० का दिन अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । त्यसका लागि एक विशेष समारोह आयोजना हुंदैछ ।

वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिमतर्फको अग्रभागमा शपथग्रहण कार्यक्रम राखिनेछ । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही शपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा शपथग्रहण गर्दै आएका छन् ।

विगतका शपथ ग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोना महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाई मात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने जनाइएको छ । तर शपथग्रहण समारोहमा उपस्थित हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा झण्डै २ लाख झण्डाहरु फहराइने भएको छ ।

शपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउनेछ । राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायधिस जोन रोबर्टस्बाट शपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर शपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा शपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।

उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायधिश सोनिया सोटोमेयरबाट शपथ लिने कार्यक्रम रहेको छ । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिनेछिन् ।

शपथग्रहणमा जो बाइडेनले भन्नेछन् – ‘म सम्पूर्ण रुपमा शपथ लिन्छु कि मैले बफादारिताका साथ अमेरिकाको राष्ट्रपतिको कार्यालय सञ्चालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्धत गर्नुहोस् भगवान ।’

शपथग्रहणमा कमला ह्यारिसले भन्नेछिन् – ‘म सम्पूर्ण रुपमा शपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्धेश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तव्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्धत गर्नुहोस् भगवान ।’

शपथग्रहण समारोहमा पदावधि सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स उपस्थित हुने भएका छन् । साथै पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बराक ओबामा पनि उपस्थित हुनेछन् । यात्रा गर्न नसकेका कारण ९६ वर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने शपथग्रहण समारोहमा उपस्थित नहुने भएका छन् ।

शपथग्रहण समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुति रहनेछ । लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् भने जेनिफर लोपेजले सांगितिक प्रस्तुतिकै क्रममा गाउनेछिन् । साथै, जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक लगायतको पनि प्रस्तुति रहनेछ ।

शपथग्रहणपछि बाइडेनले २१ तोपको सलामी प्राप्त गर्नेछन् । त्यसपछि उनले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि बाइडेन र ह्यारिसले उनीहरुका दम्पतिसहित संसद भवनको पूर्वतिरको अग्रभागमा सेनाको विशेष परेड अवलोकन गर्नेछन् । परम्परागत रुपमा यो परेडभन्दा अगाडि नयाँ राष्ट्रपतिले पूर्व राष्ट्रपतिलाई सेनाको हेलिकोप्टरसम्म बिदाई गर्ने परम्परा छ । तर यसपटक डोनाल्ड ट्रम्पले शपथग्रहणमा समारोहमा उपस्थित नभई त्यो अगाडि नै ह्वाइट हाउस छाड्ने भएका छन् ।

संसदभवनको पूर्वी अग्रभागको परेड अवलोकनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति ह्यारिस लगायत आर्लिंगटनमा रहेको नेशनल सिमेट्रीमा जानेछन् । त्यहाँ उनीहरुले ज्ञात अज्ञात सिपाहीहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । पूर्व अमेरिकी राष्ट्रपतिहरु क्लीन्टन, बुस र ओबामा पनि त्यहाँ जानेछन् ।

त्यसपछि राष्ट्रपतिलाई १५ स्ट्रीटबाट ह्वाइटहाउससम्म विशेष इस्कर्टिंगका साथ लगिनेछ । त्यहाँ अमेरिकी सेनाका हरेक शाखाको सहभागिता रहनेछ । यसरी ह्वाइटहाउस प्रवेश गर्दैगर्दा अमेरिकाभर विशेष भर्चुअल परेडको आयोजना गरिएको छ ।

राती साढे ८ बजे ९० मिनेटको विशेष उत्सवको आयोजना गरिएको छ । यो कार्यक्रममा जो बाइडेन र कमला ह्यारिसको मन्तव्यको साथमा विभिन्न प्रस्तुतिहरु समेत रहनेछन् । कार्यक्रम अमेरिकाका मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू