मंगलबार, वैशाख ११, २०८१
08:59 | १३:४४

भारतमा कोरोनाविरुद्धको विश्वकै ठूलो खोप अभियान शुरु

रासस-एएनआई जनवरी १६, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि शुरु  गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरे । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । 

अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । 

अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभर तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ । 

खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई ‘कोरोनाको अन्त्य नै सुरु भएको’ रुपमा लिएको बताए ।   

अर्को चरणमा ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । बृद्धबृद्धाहरु कोरोनाभाइरसबाट संक्रमणको उच्च जोखिम हुने र संक्रमित भइसकेपछि जित्न पनि गाह्रो हुने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ । 

भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । यही ३ जनवरीमा खोप लगाउन अनुमति दिने निर्णय सरकारले गरेको थियो । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एस्ट्राजेनेका कम्पनीले बनाएको  कोभिशिल्ड प्रयोग गर्न सरकारले अनुमति दिएको हो । 

खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारी विरुद्धको सङक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए ।  

‘यति धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् र जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्यून छ’ उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू