मंगलबार, फागुन १८, २०७७
13:17 | १९:०२

परराष्ट्रमन्त्री नयाँ दिल्लीतर्फ, सीमा विषयमा छलफल हुने

रासस जनवरी १४, २०२१

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । 

आजैदेखि प्रारम्भ हुने उक्त बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयका साथै व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन एवं संस्कृतिबारे छलफल हुनेछ ।

मन्त्री ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री जयशंकर सुब्रमहण्यमले बैठकको सह-अध्यक्षता गर्नेछन् । नयाँदिल्लीमा रहँदा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल छन्  । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका थिए   

नेपाल–भारत सम्बन्धका सबै पक्षमा परराष्ट्रमन्त्रीस्तरमा वर्षेनी विचारविमर्श गर्ने उद्देश्यले २०४३ सालमा संयुक्त आयोग गठन भएको हो । आयोगको बैठक आलोपालो गरी नयाँदिल्ली र काठमाडौँमा हुँदै आएको छ । सत्र महिनाअघि आयोगको पाँचौं  बैठक काठमाडौँमा भएको थियो ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यो बैठक निर्धारित समयभन्दा पाँच महिनापछि हुन लागेको हो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू