शनिबार, वैशाख ८, २०८१
06:22 | ११:०७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

रासस-एएफपी जनवरी १४, २०२१

वासिङटन्  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ ।

अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बनेका छन् । 

अघिल्लो हप्ताको बुधबार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि उनी विरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथि सांसदहरुको मतदान हुँदा महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । यहाँको ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ मा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य  छन् ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिएकी छन् । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ ले  सन् २०१९ मा पनि उनीविरुद्ध महाभियोग पारित गरेको थियो । 

तर पनि त्यस समयमा भने उनको दल रिपब्लिकनका एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन् ।

अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुनका लागि सिनेटको मतको दुई तिहाइ आवश्यक हुन्छ ।

यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनुपर्नेछ । तर, यो सम्भावना भने निकै कम देखिन्छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू