शनिबार, वैशाख ८, २०८१
11:49 | १६:३४

मनाङमा आगलागी, डेढ महिनासम्म निभेन आगो

रासस जनवरी १२, २०२१

फाइल तस्विर

मनाङ ।  हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर प¥यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ । प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए । हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ, उनले भने, अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।

अर्का स्थानीय तथा यस क्षेत्रका सिएमसीका अध्यक्ष याद घलेले हिमाली क्षेत्रको जङ्गलमा लामो समयदेखि लागेको आगोबाट महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप भएको बताए । प्रशासन र जनप्रतिनिधिले पनि सहयोग गरेनन्, छिमेकी पनि मुकदर्शक बने”, उनले भने । आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ ।

आगलागी फैलँदै जाँदा नजीकैको ताचै गाउँ जोखिममा परेको छ । ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ । डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ । स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन् । सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ । आगलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो ।

स्रोतसाधन अभाव

स्रोतसाधन अभाव र भौगोलिक विकटताले आगो नियन्त्रणमा चुनौती थपिएको छ । स्थानीयवासी र सुुरक्षा निकायले स्याउलाको प्रयोग गरेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । यसबाहेक सुरक्षा निकायसँग रहेको सामान्य साधनबाहेक अरू केही छैनन् । जसले आगो नियन्त्रणमा चुनौती थपेको छ ।

आगलागीका कारण महत्वपूर्ण जडीबुटी र वन्यजन्तु लोप हुने अवस्था आउँदा जैविक विविधतालाई समेत असर पर्ने देखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का जिल्ला प्रमुख लेखनाथ गौतमले आगलागीबाट जैविक विविधतामा गम्भीर असर पु¥याउने बताए । हिमाली क्षेत्रमा लामो समयसम्म लागेको आगोले वनस्पति र वन्यजन्तु लोप हुन्छन् । यसले जैविक विविधतालाई असर पार्छ, उनको भनाइ छ । हिमाली जङ्गलमा जङ्गली जनावरको चोरीशिकारी, गुच्चीच्याउर नयाँ घाँसका लागि आगलागी हुने गरेको पाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू