मंगलबार, वैशाख ४, २०८१
16:52 | २१:३७

चीनमा कोभिडको उत्पत्तिबारे अध्ययन गर्न विश्व स्वास्थ्य संगठनलाई अनुमति

रासस–एएफपी जनवरी ११, २०२१


बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन पुग्ने भएका छन् ।

चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो ।

कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।

यसै महिनाको शुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लुएचओबीच असमझदारी उत्पन्न भएको थियो । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अबरोध गरेकामा आपत्ति जनाएका थिए ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुलाई डब्लुएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको जनाउँदै पछिल्लो समय उत्पन्न गतिरोध ‘असमझदारी’ का कारण मात्र भएको स्पष्ट पारेका छन् । डब्लुएचओका विज्ञहरु चीनमा दुई साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

संयुक्तराज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिका बारेमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् ।

बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोनाभाइरसको संक्रमण रोक्न चीन सरकारले आफूले गरेको प्रयत्नको प्रशंसा गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू