शनिबार, वैशाख ८, २०८१
20:41 | ०१:२६

अमेरिकामा कोभिडको नयाँ रेकर्ड: एकै दिन ४ हजार बढीको मृत्यु

रासस-सिन्ह्वा जनवरी १०, २०२१

तस्विर एएफपी

वासिङटन् । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ पछिल्लो एकै दिनमा संक्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन ‘सिडीसी’ ले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो संक्रमणबाट निधन भएको छ । त्यस दिनमात्र यो संक्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

सिडीसीका अनुसार अमेरिकामा कोरोना भाइरसको महामारी शुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । यहाँ शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब १ लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा नै रहेका बताइएको छ ।

नयाँ वर्ष शुरु भएपछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन् ।

यो हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षणहरु देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा अहिलेसम्ममा यो संक्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका ३ लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ ।

साथै पछिल्ला केही दिनहरुमा यहाँ संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ । 

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको कारण विश्वभर ९ करोड १० लाख भन्दा बढी संक्रमित भएका छन् । 

कोरोनाका कारण विश्वभर १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने  हालसम्म ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू