शनिबार, वैशाख ८, २०८१
04:51 | ०९:३६

अफगानमा रक्तपात जारी रहेकै अवस्थामा शान्ति वार्ता शुरु

रासस–एएफपी जनवरी ३, २०२१

फाइल तस्बिर एएफपी

काबुल, १९ पुस– अफगानिस्तानमा राजनीतिक प्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको छ ।

महिनौंदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ, तर दुबै पक्षबीच गत वर्षका वार्ताहरुका आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ जसलाई सुखद मानिएको छ ।

अफगान सरकारका वार्ताकारहरुले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् ।

एक जना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौं किनभने मानिसहरु यस रक्तपातपूर्ण युद्धबाट थकित भइसकेका छन् ।’ तर, तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन ।

महिनौंदेखिको ढिलाई पश्चात संघर्षरत पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा शुरु भएको थियो, तर छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको विवादले वार्तामा गतिरोध उत्पन्न भएको थियो ।

अमेरिकी घनीभूत कुटनीतिक प्रयत्न पश्चात् दुबै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो । गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आक्रमणहरु भइरहेका छन् ।

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँच जना पत्रकार र एक जना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका हमलामा ज्यान गइसकेको छ । अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर, अधिकांश यी आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिइआएको छ ।

‘तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्ध रुपमा जनतामा नैराश्यता उत्पन्न गर्ने कोशिस गरिरहेको छ’, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार जाभिद फैजलले बताए, ‘तर यी हत्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’

अफगानिस्तान अनुसन्धान तथा मूल्याँकन इकाईका उप निर्देशक निशंक मोतवानीको भनाईमा तालिबानले औपचारिक रुपमा राजनीतिक हत्याको जिम्मेवारी लिने गरेको छैन् । मोतवानीले तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी नराख्ने बताए ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आक्रमण गरेको अफगानिस्तानका गुप्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए ।

गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको हत्या भएको र तीन हजार ८२२ जना घाइते भएका थिए । अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् तर वार्ता बेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न ।

‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो ?’- काबुल निवासी जमसिद मोहम्मदले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू